काठमाडौँ, १७ बैशाख । जेठी छोरी खुस्बु, कान्छी छोरी प्रीतिसहित मैयाँ बुढाथोकी गत शनिबार धरहराको चौथो तलाबाट पाँचौँ तलामा चढ्दै हुनुहन्थ्यो । एक्कासि धरहरा जोडले हल्लिन थाल्यो, भूकम्प आएको भन्दै तीनै आमाछोरीले एकले अर्कालाई बेस्सरी पक्डिए ।
केही छिनको कम्पनपछि धरहरा गर्लम्मै ढल्यो, आमा मैया भत्किएको संरचनाभित्र थिचिनुभयो, जेठी छोरी खुस्बु ठूलो ढिस्काले पुरिनुभयो । रुँदै हारगुहार गरेपछि केही व्यक्ति र सुरक्षाकर्मीको टोलीले ढिस्को हटाउँदै निकाल्यो । उनै खुस्बुकोे तल बहिनी प्रीति पनि पुरिनुभएको रहेछ । दुवैलाई उद्धार गरी नजिकैको वीर अस्पताल पुर्याइयो ।
पुरिएको ढिस्काभित्र केहीबेर थिचिएर उद्धार गरी वीर अस्पतालमै पुर्याइनुभएकी मैयाँलाई आफू बाँचे पनि छोरीहरुलाई केही भयो कि भनेर धेरै चिन्तित तुल्यायो । टाउकाबाट रगत बगिरहेको थियो, शरीरभरि चोटैचोट थियो तर अस्पतालबाट भागेर धरहरामा गएर छोरीहरुलाई खोज्न जान जानुभयो ।
भौँतारिँदै धरहरातिर जान लाग्नुभएकी उहाँले अस्पतालको अर्को कुनामा दुवै छोरीलाई देखेपछि केही सन्तोष लाग्यो । तीनै आमाछोरी त्यहीँ रुवाबासी गर्न थाले, धन्न बाँचियो भनी एकार्कालाई अङ्कमाल गरे । सबैको अनुहार र शरीरभरि माटो र रगत लत्पितिएको थियो ।
एक्कासि वीर अस्पतालमा बढेको भिड र पटक पटकको थप भूकम्पको धक्कापछि घाइते रहेको सो ठाउँमा ग्यासको पाइप फुटेर केही बेर हल्लीखल्ली मच्चियो । हल्लीखल्लीसँगै मैयाँले घिस्रिँदै वीर अस्पताल बाहिर आएर अर्को अस्पतालमा लैजान आग्रह गर्दै हारगुहार गर्नथाल्नुभयो ।
घाइते अवस्थामा मैयाँले हारगुहार गरिरहेको देखेपछि एक युवक र वृद्धले उहाँलाई ट्याक्सी खोज्न सहयोग गरिदिए । सो ट्याक्सीले तीनै घाइतेलाई मीनभवनमा रहेको निजामती अस्पतालमा ल्याएर छाडिदियो । उनन्चास वर्षीया मैयाँको टाउकाको पछाडि भागमा ठूलो चोट लागेको छ, हातखुट्टा थिचिएर थिलोथिलो भएको छ । नेपाल बङ्गलादेश बैंँककी कर्मचारीसमेत रहेकी २७ वर्षीया जेठी छोरी खुस्बुको कम्मरमा गहिरो चोट लाग्नाका साथै खुट्टामा खाल्डो पर्ने गरी मासु गएको छ । सिए दोस्रो वर्षमा पढ्दै गर्नुभएकी २१ वर्षीया प्रीसतको छातीको करङ भाँचिएर ‘चेस्ट ट्युब’ हालिएको छ ।
मैयाँ छोरीहरुलाई लिएर भद्रकालीमा लाखबत्ती बाल्ने र नयाँ सडकमा घुम्ने योजनासहित त्यस दिन त्यतातर्फ जानुभएको थियो । केही छिनको घुमघामपछि एक्कासि धरहरा चढ्ने योजना बनेको मैयाँले बताउनुभयो ।
भूकम्पपछि श्रीमती र छोरीबारे धेरैबेरसम्म फोन सम्पर्क र सूचना नआएपछि पद्कन्या क्याम्पस र कन्या स्कुलका शिक्षक चूडाबहादर बुढाथोकी चिन्तित बन्नुभयो । परिवारका सदस्यका रुपमा उहाँका दुई छोरी र एक श्रीमती मात्रै हुन् ।
अपराह्न ४ बजेतिर जेठी छोरीको साथी रोशन श्रेष्ठबाट आफ्नो परिवारका बारे जानकारी पाएलगत्तै चूडाबहादुर अस्पताल आइपुग्नुभयो । श्रीमती र छोरीहरुको धरहरा चढ्ने योजनाबारे कुनै जानकारी नपाउनु भएका उहाँ परिवार जीवितै पाउँदा केही राहत भए पनि सबै घाइते भएको अवस्थामा देख्दा चिन्तित तुल्याएको बताउनुहुन्छ ।
भूकम्पपछि धरहरा ढल्दा धेरैको मृत्यु हुँदा पनि आफूहरु संजोगले बाँचेकामा मैयाँले खुसी व्यक्त गर्नुभयो । आफू घाइते भएको भन्दा छोरीहरु घाइते भएको देख्दा बढी चिन्ता लागेको उहाँको भनाइ छ । सिए पढ्दै गर्नुभएकी प्रीति आफ्नो आउँदो जेठमा हुन लागेको दोस्रो वर्षको ‘क्याप २’को परीक्षाबारे चिन्ता लागेका बताउनुहुन्छ । उहाँले भन्नुभयो–“परीक्षा नजिकिएकाले म कोठाबाट निस्कनै छाडेको थिएँ, त्यस दिन शनिबार परेकाले केही छिनका लागि मात्रै निस्किएको थिएँ । यस्तो हुन लेखेको रहेछ ।”
परीक्षा दिन नसके अहिलेसम्मको मिहिनेत खेर जाने तर अवस्थामा यस्तो छ कसरी दिने भन्ने चिन्तामा रहनुभएकी प्रंीतिले दोहो¥याउँदै परीक्षा कम्तीमा एक महिना सार्न अस्पतालको श्ययाबाटै माग गर्नुभयो । रासस












प्रतिक्रिया