लन्डन । नेपालमा शनिवार गएको महाभूकम्पबाट पीडित बनेका सर्वसाधारणलाई बेलायतमा रहेका प्रवासी नेपालीले राहत सामाग्री संकलन गरेका छन् । प्रवासी नेपालीहरुले भूकम्प पीडितहरुको राहतका लागि लत्ता कपडा, औषधि र खानेकुरा नेपाल पठाउन सक्रियता देखाएका हुन् ।
नेपाल अर्थक्वेक इमरजेन्सी क्याम्पियन यूके सुरु गरि उनीहरुले अत्यावश्यक सामग्री संकलनमा जोड दिएका हुन् । हालसम्म दुई लटमा औषधि र खाद्यान्नसहितको करिब ७ सय केजी सामग्री नेपाल पठाइसकिएको अभियानका प्रमुख संयोजक शिवजी श्रेष्ठले जानकारी दिए ।
उनले राहत सामाग्री काठमाडौंमात्र भन्दा दुर्गम ठाउँमा केन्द्रित गरिने उल्लेख गरे । बेजिंगस्टोकका काउन्सिलरहरु र सांसदका उम्मेदवारले समेत राहत सामाग्रीमा सहयोग गरेको श्रेष्ठले जनाए । उहाँका अनुसार अहिले पनि लण्डनमा संकलन कार्य जारी रहेको छ ।
यू केयरिंग च्यारिटी मार्फत उनीहरुले करिब ५ हजार पाउण्ड संकलन गरिसकेका छन् भने दश हजार पाउण्ड संकलनको लक्ष्य छ । विपत्तिमा मानवीय सहयोग जरुरी रहेको जनाउंदै श्रेष्ठले यसमा अरु कसैले गरिदेला भन्नु भन्दा आफैं अघि सरेको बताए ।
राहत सामाग्री संकलन प्रभावकारी बनाउन एउटा कमिटी समेत बनाइएको छ, जसमा बेलायतभरबाट प्रतिनिधित्न गर्ने व्यक्ति छन् ।
समितिको टिम कोअर्डिनेटरमा हिराधन राई, सेक्रेटरी कोअर्डिनेटर राजेन्द्र थापा, फाइनान्सियल कोअर्डिनेटर रविन सापकोटा, मिडिया कोअर्डिनेटरहरु नवीन पोखरेल र वाचस्पति रेग्मी एवं युथ कोअर्डिनेटरमा मिरुना थापा सुव्वा रहेका छन् ।















प्रतिक्रिया