७ कार्तिक २०८३, शनिबार

यार्सागुम्वा सङ्कलन गर्न डोल्पामा ११ गतेदेखि यार्सापटन खुल्ला गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

डोल्पा, ९ जेठ । डोल्पा जिल्लामा यार्सागुम्वा सङ्कलनका लागि यहि जेठ ११ गतेदेखि सम्पूर्ण यार्सा पटनहरू खुल्ला गरिने भएको छ ।

शुक्रबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधहरूको सहभागीतमा बसेको बैठकले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनहरूमा रहेका यार्सापटनहरूमा यहि जेठ ११ गतेदेखि असार १० गतेसम्म यार्सागुम्वा सङ्कलन गर्न पाउने निर्णय गरिएको छ ।

बहुमूल्य जडिबुटीको रूपमा पाइने यार्सागुम्वा डोल्पा जिल्लाका स्थानीय लगायत छिमेकी जिल्लाका स्थानीयहरू राम्रो आम्दानी गर्ने गर्दछन । प्रायः जस्तो स्थानीयहरू यार्सागुम्वा सङ्कलनबाट प्राप्त आम्दानीले बालबच्चा पढाउने, घर खर्च चलाउने गर्दछन ।

कोभिड–१९ संक्रमणका कारण लामो समय सम्म सर्वसाधारणले यार्सागुम्वा सङ्कलन गर्न नपाएको भन्दै यस पटक विभिन्न तयारीका साथ करिव एक महिनाका लागि यार्सापटन खुल्ला गरिने भएको हो । यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका वासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्लाबाहिरका बासिन्दालाई राष्ट्रिय निकुञ्ज एन र नियामावली अनुसार फरक फरक प्रवेश शुल्क लाग्ने छ ।

यार्सागुम्वा सङ्कलनकर्ताहरूका लागि सुलिगार्ड, धो, साल्दाङ्ग, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोईजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पूर्जी वितरण हुने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ । यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकता अनुसार स्थान निर्धारण गरि पुर्जी वितरण गरिने जनाएको छ ।

डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेको करिव दुई दर्जन भन्दा बढी यार्सागुम्वा पाटनहरूमा सर्वसाधारणहरूको भिड हुने भएकोले विभिन्न किसिमका अपराधिक गतिविधिहरू हुन सक्ने भएकोले त्यस्ता किसिमका क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्नको लागि श्री रामवाण गुल्मका गुल्मपतिको संयोजकत्वमा थप छलफल गरि सुरक्षा परिचालन गरिने भएको छ ।

यार्सागुम्वा सङ्कलनको अवधिमा यार्सा सङ्कलन वाहेक अन्य गैह्रकानूनी कार्य गरेमा रा.नि तथा व.ज.संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियामावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारवाही हुने निकुञ्जले जनाएको छ ।

यस्तै यार्सागुम्वा सङ्कलनको अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकाहरूमा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरू संग समन्वय निशुल्क स्वास्थ्य शिविर राख्ने,पाटनमा हुने फोहोर मैला व्यवस्थापनका लागि यार्सागुम्वा सङ्कलनकर्ताहरूलाई नाकाहरूमा अभिमुखिकरण गर्ने जनाईएको छ ।