बुटवल, १७ जेठ । लुम्बिनी अञ्चल अस्पतालमा खुट्टा र कम्मरको जोर्नी भागमा रोग लागेको हिप (जाघ) जोर्नी शल्यक्रियाबाट निकाली कृत्रिम जोर्नी प्रत्यारोपण सम्पन्न भएको छ ।
राजधानीबाहिर यस्तो शल्यक्रिया पहिलोपटक भएको चिकित्सकहरूले दाबी गरेका छन् । विगत लामो समयदेखि सो रोगबाट पीडित रुपन्देही रुद्रपुर–८ का ५९ वर्षीय दिलबहादुर घिमिरे कमजोर आर्थिक अवस्थाका कारण सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन समस्या भएको थियो ।
लुम्बिनी अञ्चल अस्पतालमा हाडजोर्नी तथा नशा रोग विभागका वरिष्ठ कन्सल्ट्यान्ट डा राजेन्द्र सञ्जेल क्षेत्रीको नेतृत्वको टोलीले घिमिरेको सफल शल्यक्रिया गरेको हो ।
चिकित्सकको टोलीले करिब तीन घण्टा लगाएर सो शल्यक्रिया गरेको डा क्षेत्रीले जानकारी दिनुभयो । शल्यक्रियामा डा किशोर खत्री, डा ईन्द्र ढकाल र डा गोपाल ज्ञवालीसहितको टोली सहभागी थियो ।
यस प्रकारको कृत्रिम जोर्नी प्रत्यारोपण जटिल शल्यक्रिया मानिन्छ । राजधानीको केही निजी अस्पतालमा अत्यधिक महङ्गो शुल्क तिरेर वा शिक्षण र वीर अस्पतालमा महिनौंको पर्खाइपछि मात्र सम्भव हुने शल्यक्रिया लुम्बिनी अञ्चल अस्पतालमा धेरै नै कम लागतमा सम्पन्न हुँदा यस भेगका बिरामीमा ठूलो सेवा पुग्ने डा क्षेत्री बताउनुहुन्छ ।














प्रतिक्रिया