७ कार्तिक २०८३, शनिबार

कांग्रेस र नेकपा एसको तालमेल ठगी धन्दा होः भीम रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २७ वैशाख । नेकपा (एमाले)का नेता भीम रावलले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीचको एकता ठगी भएको टिप्पणी गरेका छन् ।

उनले मंगलबार अछाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस र एकीकृत समाजवादीबीचका तालमेल भनेको घिउ बेचुवा र तरवार बेचुवाको ठगी रहेको बताएका हुन् ।

‘अहिले जसरी तालमेल भइरहेको छ, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीचको एकता वा तालमेल भनेको घिउ बेचुवा र तरवार बेचुवाको ठगी हो,’ रावलले भने । उनले माधव नेपालहरुले एमाले छाडेर कांग्रेसको शरणमा जाने जस्तो अत्यन्तै ठूलो भूल गरेको पनि बताए । आफू पार्टीभित्र अन्तर संघर्ष गर्ने तर घर आगो लगाएर हिँडन नसक्ने भन्दै माधव समुहको भण्डाफोर गरे । नेता रावलले पार्टी बिभाजनको बेला अछामका नेता कार्यकर्ता रु जनतामाझ बसेर अन्तिम फैसला गर्ने सहमतिबिपरित शेरबहादुर कुँवरलगायतका केही मानिसहरु एमाले छाडेर भागेको र अछामी जनतालाई धोका दिएको बताए ।

‘माधव नेपालले पार्टी फुटन लाग्यो, अव जनतालाई सोध्नुपर्यो भनेर झपट रावल र शेरबहादुर कुँवरसँग भने, पर्सिपल्ट अछाममा आउने कुरा भयो तर भोलिपल्टै फोन गरेर पार्टी फुटन लाग्यो, एमाले छाड भने,’ रावलले भने । उनले अछामका जनताले सूर्य चिन्हमा भोट हालेर आफूलाई जिताएर पठाएकै कारण एमालेमै रहेको र एमालेको बिकल्प नभएको बताए ।

‘अछामका जनताले गाँस कटाएर भीम रावल बनाए, हजुर म त्यो आछामीका मायालाई धोका दिन सक्दिन भने,’ रावलले भने, ‘अध्यक्ष र मन्त्री बन्न अफर आएको थियो समाजवादीबाट । तर अस्वीकार गरें । मन्त्री जो पनि हुन्छ, तर जनताको मायालाई धोका दिएर मन्त्री बन्ने कुरा मलाई स्वीकार्य भएन, पदको पछि कुदने मान्छेले जनताको कहिल्यै भलो गर्दैन, आफ्नो लागि मात्रै गर्छ ।’

त्यस्तै, वैशाख ३० मा सूर्य चिन्हमा मतदान गरी एमालेविरोधी तत्वहरुलाई जवाफ दिन पनि आग्रह गरे ।