
सप्तरी, २५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सप्तरीमा मङ्गलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना जारी गरी मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थमा रोक लगाइएको जनाएको छ ।
वैशाख ३० गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ बिक्री वितरण तथा तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनुभयो । निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को परिच्छेद ६ (थ) बमोजिम यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको बताउनुहुँदै प्रजिअ गौतमले निर्णयविपरीत कसैले काम गरेको पाइएमा नियमअनुसार कारबाही हुने चेतावनी दिनुभयो । यो निर्णयअघि मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला अधिकारी गौतमसहितको उपस्थितिमा राजविराजमा सर्वदलीय बैठक सम्पन्न भएको थियो ।
जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावना भएकाले जिल्लामा मदिरा सेवन तथा बिक्री वितरणमा पूर्णप्रतिबन्ध लगाइएको हो । जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिराको भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरिएको छ ।
अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहिता पालना गर्न पनि बैठकमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई सचेत बनाइएको छ ।–रासस















प्रतिक्रिया