आबुधाबी । वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक यूएई पुगेका नेपाली युवाहरुले नेपालका भूकम्प पीडितका लागि रकम संकलन गरेका छन् ।
आबुधाबीमा कार्यरत लमजुङको बेसिशहरस्थित लमजुङ मस्र्याङ्दी युवा क्लवका पूर्वउपाध्यक्ष बस्ती लामा तामाङ, झापाका अरुण लुइटेल र बिमल भेटवाल तथा इलामका राजेन्द्र सापकोटा, अर्जुन खड्का लगायतको पहलमा नेपालका भूकम्प पीडितका लागि राहत संकलन गरिएको हो । युवाहरुले भूकम्पमा परी मृत्युु हुनेहरुको श्रद्धाञ्जली स्वरुप शोकसभा र नेपालीहरुको लागि दीप प्रज्वलन गरी प्राथना समेत गरेका थिए ।
कार्यक्रम कुनै संस्थाले नभइ नेपाली युवाहरुले स्वतस्फूर्त रुपमा गरेका हुन् । कार्यक्रममा सयौं नेपालीहरुको उपस्थिति रहेको थियो ।
शोकसभापछि राहत संकलनका लागि ३५ जना युवाहरुको एउटा समिति गठन गरिएको छ । कार्यक्रममा बस्ती लामाले सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई आफ्नो ब्यक्तिगत तर्फबाट ४००० हजार दिराम (नेपाली एक लाख भन्दा बढी) दिने घोषणा गरेका छन् । थुप्रै अरु राहत सङ्कलन गरी आफ्नो टोली चाँडै नेपाल जाने र सिन्धुपाल्चोकका भूकम्प पीडितलाई राहत वितरण गर्ने लामाले दैनिक नेपाललाई जानकारी दिए ।
शोकसभामा फिलिफिन्स, पाकिस्तान, भारत लगायतका मुलका कामदारको पनि उपस्थिति थियो ।


















प्रतिक्रिया