२९ आश्विन २०८३, बिहिबार

त्रिपाल नभएपछि काठमाडौँका अस्पतालले घाइतेलाई गेटबाटै फर्काउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । उपचार गर्ने क्षमता हुँदाहुँदै पनि पालको अभावमा भूकम्पबाट घाइते भई आएका गम्भीर बिरामीको पनि उपचार गर्न नसकिएको नेपाल मेडिकल कलेज, जोरपाटीले जनाएको छ ।

शनिबार अपराह्न गएको भूकम्पबाट अस्पतालका भवन चर्किएर बस्न नहुने अवस्थामा पुगेपछि नेपाली सेनाले उपलब्ध गराएको एउटा पाल र अन्य स्थानीय सङ्घसंस्थाले उपलब्ध गराएका पालमा २५० बिरामीको उपचार हुँदै आएको छ ।

अस्पतालको क्षमता ७५० बिरामीको उपचार गर्ने भएपनि त्रिपालकै अभावमा सख्त घाइते भई आएका बिरामीको पनि उपचार हुन नसकेको अस्पताल निर्देशक राजेशकिशोर श्रेष्ठले जानकारी दिनुभयो । “काठमाडौँको उत्तरपूर्वी भेगका र नुवाकोट एवम् सिन्धुपाल्चोकका धेरै घाइते अस्पतालमा आए पनि स्थान अभावकै कारण फिर्ता गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय विपत्तिको यो घडीमा हामीले निःशुल्क उपचार गरिरहेका छौँ ।”

अस्पताल आठ रेक्टर स्केलको भूकम्प प्रतिरोधक भनी निर्माण गरिए पनि ७.६ रेक्टर स्केलको भूकम्पमै क्षति भई बिरामी उपचार गर्न नसकिने अवस्थामा पुगेको छ । शनिबार अपराह्न भूकम्प गएका बेला उपचार गराइरहेका राजन राजथला अस्पतालका सबै बेडमा पङ्खासमेत झरेर बिरामीको टाउको फुटेको र गोडा भाँच्चिएको बताउनुहन्छ । “छ महिना उपचार गरेर गोडा ठीक भई घर जाने तर्खरमा थिएँ, पङ्खाले लागेर फेरि अस्पतालमा थलिएको छु”, उहाँले भन्नुभयो ।

भूकम्पका कारण अस्पतालको बहिरङ्ग विभाग बन्द रहेको छ । २५० स्वास्थ्यकर्मी घाइतेको उपचारका लागि तम्तयार राखिएको निर्देशक श्रेष्ठले बताउनुभयो । ल्याबसमेत बाहिरै सञ्चालन भइरहेको र शल्यक्रिया गर्नसमेत टेन्टको अभाव रहेको उहाँले जानकारी दिनुभयो ।

सरकारले टेन्ट उपलब्ध गराए उपचारका लागि आएका अस्पतालको क्षमताले धान्ने सबै बिरामीको उपचार गरिने अस्पताल प्रशासनले जनाएको छ । रासस