२९ आश्विन २०८३, बिहिबार

धुलिखेल अस्पतालमा औषधि तथा उपकरणको अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १५ वैशाख । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पका कारण घाइतेहरुको सङ्ख्या बढ्दै जान थालेपछि धुलिखेल अस्पतालमा औषधि तथा शल्यक्रियाका उपकरणको अभाव हुने सङ्केत देखिन थालेको छ ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. राजेन्द्र कोजुले ६० जनाको ठूलो र करिब दुई सय जनाको सानो शल्यक्रिया गरिएको जानकारी दिँदै शल्यक्रियासँग सम्बन्धित औजार र उपकरणको आपूर्तिमा कमी आउन थालेको बताउनुभयो ।

“धेरैजसो बिरामी काटिएको र भाँचिएको अवस्थामा छन् । उनीहरुको शल्यक्रिया गर्न जरुरी छ तर औषधि र उपकरणको अभाव हुनसक्छ,” प्रशासकीय निर्देशक डा. कोजुले भन्नुभयो ।

औषधि तथा विभिन्न उपकरण अभाव हुन नदिन नेपाल सरकार र दातृ निकायलाई निर्देशक डा. कोजुले अनुरोध पनि गर्नुभएको छ ।

यसैबीच बनेपास्थित शिर मेमोरियल अस्पतालमा पनि औषधि र उपकरणको आपूर्तिमा कमी आउन थालेको अस्पतालका निर्देशक सुन्दर थापाले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म औषधि र उपकरणको अभाव नभए पनि अब १५० जना भन्दा बढी बिरामीलाई उपचार गर्दा समस्या हुनसक्ने बताउनुभयो ।

अहिले सदरमुकामस्थित धुलिखेल अस्पतालमा सात सय जना र शिरमेमोरियल अस्पतालमा १९९ जना बिरामीको उपचार भइरहेको छ ।

काभ्रेपलाञ्चोकमा अहिलेसम्म मृतकको सङ्ख्या २६८ पुगेकोे छ भने घाइतेको सङ्ख्या ८०० भन्दा बढी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार २८ हजार घर क्षतिग्रस्त भएका छन् । रासस