७ कार्तिक २०८३, शनिबार

उम्मेदवारसँग मतदाता माग्छन् ‘पूर्वाधारसँगै आर्थिक विकास’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा, २४ वैशाख । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि सहरसम्म सरगर्मी बढिरहेको छ । साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आ–आफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन् । निर्वाचनमा प्रमुख प्रतिस्पर्धा हुने आंकलन गरिएको नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन र नेकपा ९एमाले० चुनाव जित्ने आ–आफ्नै आधार दाबी जनताको बीचमा पेश गरेका छन् ।

निर्वाचनको समयमा घरदैलोमा आउने उम्मेदवार तथा दलका नेताहरूलाई मतदाताले खुलेर आफ्नो धारणा राख्न थालेका छन् । “निर्वाचनको बेला दैलोमा आएका नेतालाई अहिले आफ्ना भनाइ नराखे कहिले राख्ने ?”, बागलुङ नगरपालिका–५ मालिकाका सुन्दर रेग्मीले सुझावसहित भनाइ राख्दै भन्नुभयो, “हामीले सुनाएका गुनासा, योजना र समस्या यहाँहरूका नीति तथा कार्यक्रममा समेटिनु आवश्यक छ ।”

देशमा रोजगारी अभावका कारण विदेशिएका युवा, विदेशमा भोगेको दुःख र स्वदेशमा गर्न सकिने कामका विषयमा युवा मतदाताले सुझाउने गरेका छन् । घरदैलोमा रहेका उम्मेदवारलाई पूर्वाधार विकासको विषयमा सुझाउने मतदाता यसपटकको निर्वाचनको समयमा भने आर्थिक विकासको विषयमा समेत सुझाउँछन् ।

“मैले सवारी चढ्दा हरेकपटक करसहितको भाडा तिरिरहेको छु, मलाई थाहा छैन, नेपालमा कहीँकतै सवारी भाडाबाट कर सङ्कलन भएको”, रेग्मीले बागलुङ नगरपालिकामा प्रमुखका उम्मेदवार जनकराज पौडेललाई सुझाव दिँदै भन्नुभयो, “त्यही भाडामा मैले कोचाकोच भएर हिँड्नुपर्छ, कर जोडेर तिर्नुपर्छ भने नगरले त्यो सवारीसाधनबाट कर किन नलिने ।”

“कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, पूर्वाधार निर्माण र मानव संशाधन विकासबाट हामीले समृद्ध बागलुङको सपना देखेका छौँ, सोहीअनुसारका सुझाव आइरहेका छन्”, एमालेको तर्फबाट बागलुङ नगरपालिकाका उम्मेदवार जनकराज पौडेलले भन्नुभयो, “जनताका माग एकदमै ठिक छन्, हिजो सडक, पानी, बिजुलीमात्रै माग्नेहरू अहिले कृषि, पर्यटन, पशुपालन र साना उद्योगका कुरा गर्नुहुन्छ ।”

घरदैलो अभियानमा रहेका बागलुङ नगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार वसन्तकुमार श्रेष्ठले पनि बागलुङ नगरपालिका–८ सिगाना गाउँमा पुगेर आर्थिक विकासकै लागि धेरै सुझाव पाउनुभयो । “हामीले सुन्तला गाउँ भनेर चिनिएको सिगानाको सुन्तला ब्रण्डिङ गर्छौँ”, सर्वसाधारणको सुझावपछि उहाँले भन्नुभयो, “कृषिलाई व्यावसायिक बनाउँदा युवाको परिचालन, रोजगारीको सिर्जना र आयआर्जन बढ्छ ।”

बागलुङ नगरले प्रदेश सरकारसँगको सहकार्यमा सुरु गरेको रिङरोड बनाउनेदेखि बलेवा विमानस्थल चलाउनेसम्मका प्रतिबद्धता सबै उम्मेदवारका दस्तावेजमा छन् । पर्यटनको हब बागलुङलाई बनाउने भनेका दल तथा उम्मेदवारले जनताको आर्थिक विकासका माग सम्बोधन गर्न नै ती योजना आएको बताउँछन् ।

सडकमा केन्द्रित मानसिकता सामाजिक विकास र आर्थिक विकासतर्फ मोडिएको जैमिनी नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार लीला रानाले बताउनुभयो ।

गठबन्धनको तर्फबाट जैमिनी नगरपालिकाको प्रमुखका उम्मेदवार नरबहादुर पुनले सर्वसाधारणको मागकै आधारमा हरेक क्षेत्रको विकासमा विज्ञको प्रयोग गरेर योजना बनाउने, गुरुयोजना तयार गरेर दीर्घकालीन योजना सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो ।–रासस