३० आश्विन २०८३, शुक्रबार

बाबुराम भट्टराईलाई खुल्लापत्र: देश शोकमा छ, तिमी ससुरालीको चिन्ता गर्छौ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-sasurali

हे भूपू तथा भावी प्रधानमन्त्री बाबुराम भट्टराई महोदय!

आफ्नो ससुराली घर भत्केकोमा दुख मनाउ गर्दै सामाजिक मिडियामा फोटो हाल्नुभएछ, त्यो पनि ठिकै छ । तर, त्यो घरको राष्ट्रिय महत्व के छ अहिले ? आज देश बेखबर छ, सम्पूर्ण मानिस शोकमा छन् । तपाईं भने फेसबुक र ट्वीटरमा आफ्नो ससुराली घरको फोटो राख्नमा व्यस्त हुनुहुन्छ । तपाईंबाट यही हो हामी नेपालीले अपेक्षा गरेको ? एकपटक सार्बजनिक पदमा बसेको मान्छेले अहिले त्यो फोटो हाल्दै ससुरालीको घर भत्केकोमा दुख मनाउने समय हो र ?

आज साराका सारा बिश्वले बडो विस्मित हुँदै नेपाल हेर्दैछ, के हुँदै छ त्यहाँ भनेर । कसरी नेपालले भूकम्पको महाविनाश ब्यबस्थापन गर्ला भनेर । जुन कुरा स्वाभाविक पनि हो । अहिलेसम्म करिब पाँच हजार नेपालीको दुखद निधन भएको छ, घरहरुमा किचियर ।

मलाई प्रश्न गर्न मन लागेको छ, तपाईंको त्यो ससुराली घरमा कति जना मान्छेहरु हताहती भएछन ? त्यो किन लेख्नु भएन होला ? कारण त्यहाँ कोही केहि भएन । कति धेरै खुसीको कुरा कोही केही भएन । अहिलेको यो २, ४ दिन घरको मूल्य हेर्दै र खोज्दै गर्ने समय होइन । त्यसको लागि कति राहत चाहिने हो, त्यसको मुल्यांकन गर्ने समय पनि हैन । भट्टराई र उनको ससुरालीको जय नै होस् । तर, तपाईं जस्तो व्यक्तिले जनताको घरको फोटो हालेर किन दुःख मनाउ गर्नुहुन्न ? ससुरालीमा धनको नोक्सान भएकोमा मात्र तपाईंलाई कस्तो दुःख ?

यो हर्कत देखेर तपाईंको गृहजिल्ला गोरखाका बासिन्दा के सोच्दै होलान ? उनीहरुले अहिलेसम्म राहत पाएका छैनन्, उद्दार हुन सकेको छैन । थुप्रै गोरखालीहरु अहिले बिचल्लीमा छन् । तपाईंलाई भोट दिएर यो स्थानसम्म पुर्याउने तिनीहरुप्रति तपाईंलाई कत्ति पनि दया लागेन है ?

तपाईंको यो अवस्था देख्दा घाइते र मृतक परिवारकाले के सम्झे होलान ? भोलिका दिनमा के सम्झेलान ? यस्तो प्रवृति छोडेर आफूलाई जनताको सेबक बनाउनुस महोदय । त्यो बन्न तयार हुनुहुन्न भने पनि सही । तर त्यो फोटो देखाएर पछि राज्य कोषबाट ऐतिहासिक घर थियो भनेर राहतको नाममा आफै प्रधानमन्त्री हुदा करोडौँ निकासा गर्ने काम नगर्नु होला । जय हिसिला भन्न हामीलाई कुनै गाह्रो छैन । देशको ढुकुटी दुरुपयोग नहोस ।

तपाईंको भलो चिताउने,

अम्बरिश पोख्रेल

अर्घाखाँची, हालः जापान