२९ आश्विन २०८३, बिहिबार

फौजी कीराले बाली सखाप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । सङ्खुवासभा जिल्लाको विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढेको छ । फौजी कीराले मकै र आलुको पात र मुना खाएर नष्ट गरेपछि कृषक चिन्तित बनेका छन्

यहाँको चिचिला, सिलिचोङ, मकालु र सभापोखरी गाउँपालिकामा लगाइएको आलु र मकैमा अमेरिकी फौजी कीराले क्षति पुर्याएको हो । हुर्किसकेको मकैको बिरुवा र फल्न लागेको आलुको सबै पात खाइदिएपछि कृषक चिन्तित बनेका हुन् ।

झन्डै दुई हप्ताअघिदेखि लाग्न सुरु गरेको कीराले अहिले मकैबारी खाली हुन लागेको सिलिचोङ गाउँपालिका–२ का कमलराज कुलुङले जानकारी दिए । बिरुवाको पात र मुना खाइदिएपछि फलको आस नभएको कुलुङले बताए ।

चिचिला गाउँपालिका–२ मा मकैसँगै लगाएको आलु पनि कीराले सखाप पारेको छ । गाउँपालिकाले यो क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरेपछि आलु खेती विस्तार भएको थियो तर आलुको बोट नै कीराले सखाप बनाएपछि फल्ने आशा मरेको किसानको गुनासो छ ।

“अब फल लाग्ने बेला भयो, बोट नै छैन, कसरी आलु फल्ला र रु” चिचिला–२ का रमेश राईले भन्नुभयो । बेलैमा कीराको नियन्त्रण नगरे अनिकाल बेहोर्नुपर्ने राईको चिन्ता छ । अमेरिकी फौजी कीराको प्रकोप बढे पनि स्थानीय सरकारको तयारी नहुँदा नियन्त्रण हुन सकिरहेको छैन ।

कीराले बाली सखाप पार्दासमेत गाउँपालिकाबाट पर्याप्त सहयोग नपाएको कृषकको गुनासो छ । खबर गोरखापत्र दैनिकमा छ ।