
-प्रतिक पौडेल
भैरहवा, २२ वैशाख । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल अहिले रुपन्देहीमा छन् ।
रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका भुसालले अहिले सम्म १४ वटा कोणसभा सम्बोधन र २ वटा स्थानीय तहको चुनावी प्रचार कार्यको समीक्षा र नयाँ रणनीति बनाउने कार्यमा सहभागी भएका छन् ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई बिजयी बनाउन भुसाल हल्लाखल्ला नगरी रुपन्देही क्षेत्र नं ३ मा आफ्नो सक्रियता बढाएको स्रोत बताउँछ ।
यसै क्षेत्रका गृहमन्त्रीको तामझामपूर्ण दौडाहा भन्दा भिन्न भुसालले क्षेत्र नं. ३ मा पार्टीका सीमित नेताहरुसँग मिहिन सुचना लिने र सोहीअनुसार प्रभावशाली व्यक्तिहरुसँग भेटघाट र असन्तुष्टहरुसँग छलफल गरिरहेका छन् ।
मनोनयनका सुरुवाती दिनमा टिकटका आकांक्षी रहेका नेताहरुबीचमा देखिएको मनमुटाव समाधान गराएर निर्वाचनमा सबै एकजुट भएर सहभागी हुने अवस्था घनश्याम भुसालको सक्रियतालेनै सम्भव भएको स्रोत बताउँछ ।
व्यक्तिगत भेटघाटलाई भुसालले आफ्नो सम्पर्क कार्यालयबाट व्यवस्थित गरिरहेको र अन्य राजनीतिक छलफल तथा अभियान पार्टी कार्यालयबाटनै समन्वय गरिइरहेको संसदीय सम्पर्क कार्यालयका प्रमुख मनोजकुमार रिजालले जानकारी दिए ।
भुसाल आफ्नो क्षेत्रका विभिन्न स्थानहरुमा आयोजित चुनाबी कार्यक्रममा सहभागी हुँदै कतिपय वडाको घरदैलोमा समेत सहभागी भएको उनको सचिवालयले सोसल मिडियामा हालेका तस्वीरले पुष्टी गरेको छ ।
पार्टीका निर्वाचन परिचालन कमिटीका संयोजक, जिल्ला नेतृत्व र क्षेत्रिय संयोजकहरुसँग सम्पर्कमा रही आफ्नो गतिविधि गरिरहेका भुसाल सुरक्षास्रोतलाई पनि जानकारी नगराइ र ड्राइभर पनि नराखी आफैले गाडी चलाइ हिँडिरहेको स्रोत बताउँछ ।

रुपन्देही क्षेत्र नं ३ निर्वाचन क्षेत्रमा पर्ने सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका र ओमसतिया गाउँपालिका, मायादेबी गाउँपालिका, बुटवल उपमहानगरपालिकामा एमालेबाट पालिका प्रमुख, उपप्रमुख लगायत वडा तहको विभिन्न पदहरुमा उम्मेदवार भएकाहरुलाई जिताउन भुसाल लागिपरेका छन् ।
रुपन्देही क्षेत्र नं. ३ का कोणसभाहरुमा भुसाल नेकपा एमालेले किन जित्नुपर्छ भनेर जनतालाई आफ्नो मन्तव्य मार्फत बताउदै आउने गरेका छन् ।
बिहीबार भुसालले सियारीमा आयोजित चुनाबी कोणसभालाई सम्बोधन गर्दै थिए ।
उनले कोणसभामा नेकपा एमालेकै कारण २०५१ सालमा ७५ हजार बाट ३ लाख हुदै अहिले आएर सियारी गाउँपालिकाको बजेट ६४ करोड पुगेको बताए ।
भूसाल भन्छन्, ‘ नेकपा एमालेले जिते सियारी गाउँपालिकाको बजेट ५ बर्ष पछि १ अर्वभन्दा बढि बनाइन्छ ।’
भुसाल मनोनयनकै दिनदेखि रुपन्देहीमा छन् । गाउँपालिका, नगरपालिका, वडाध्यक्ष, सदस्यलगायतका पदहरुमा उठेका उम्मेदवारलाई भोट हाल्न जनसमुदायलाई आग्रह गर्दै आएका छन् ।
भुसाल भन्छन् नेकपा एमालेकै कारण देशभरको स्थानिय तहमा महिला, दलित र जनजाती अनिवार्य गराइयो त्यसैले पनि सबैको सहभागिताको लागी नेकपा एमालेले जित्नै पर्छ ।
सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका १३ र १४, सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिकाका ७ र ८ वडा, ओमसतिया गाउँपालिको वडा नं २ र बुटवल उपमहानगरपालिकाका १४ देखि १९ वडा प्रतिनिधिसभा क्षेत्र नं. ३ अन्तरगत पर्दछन् ।
एमाले स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री भुसालको सक्रियतासँगै आन्तरिक मतभेद समाधान भइ एमालेबाट पालिकाहरुमा उम्मेदवार भएका नेताहरुको विजयी यात्रालाई सहज बनाइरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।















प्रतिक्रिया