– विश्वास खड्काथोकी
धराहरा ढलिसकेको थियो । इलामका भुप्रसाद बरालले धराहरा ढलेको लामो समयसम्म पनि त्यही धराहरालाई नियालिरहेका थिए । जुन धराहराले दर्जनौँ मानिसको जस्तै झण्डै झण्डै उनको पनि ज्यान लिएको थियो । उनी कहिले उद्दारको लागि खटिन्थे, त कतिबेला मानिसहरुको बीचमा आफू मृत्युको मुखमा पुगेर पनि बाँचेको वास्तविकता सुनाइरहेका थिए ।
उनी इलामबाट काठ्माडौं आएको चार दिन भएको थियो । उनको छोरी काठमाडौंमै अध्ययन गर्ने भएकाले उनी छोरीको कोठामा बसेका थिए । कहिल्यै धराहरा नचढेका भुप्रसादलाई बल्ल तल्ल राजधानी आएको मेसोमा धराहरा चढ्ने मोह जाग्यो । शनिवारको मौका छोपी भुप्रसाद छोरीसँग धराहरा पुगे र टिकट पनि लिए । तर धराहरा भने चढ्न पाएनन् ।
‘छोरीले पानीपुरी खादै थिइँ, मैले टिकट लिए, उसलाई बोलाउँदै थिएँ’, भुप्रसाद बोल्दै जान्छन्, ‘चढ्नु अघि धराहराको टुप्पोतिर हेरेको धराहरा नाचिरहेको थियो, बल्ल थाहा पाए भुइँचालो पो आएको रहेछ । छोरीलाई उतै बस्न भने र म पनि छोरी भएतिर के लाग्न थालेको थिएँ धराहरा त ढलिहाल्यो ।’ धराहरा त ढल्यो तर उनी ढलेनन् । उनी खुसी हुँदै भन्छन्, ‘बाँच्न लेखेको रहेछ । केही सेकण्डले गर्दा बाँचियो ।’
उनी त बाँचे तर उनले धराहराकै जरामा मर्न लागेका अर्का मानिसलाई देखे । भन्छन्,‘धराहराको गेटमा एक जना मानिस बचाउनुस भन्दै कराइरहेको थियो । उसको हात र टाउको बाहेक सबै पुरिएको थियो । मलाई बचाउन मन लाग्यो र एक्लै गएर उसलाई निकाले । निस्केपछि उ मज्जाले हाँस्यो । सायद बाँचेको खुशीयाली मनाए होला ।’
आदेश विष्ट पनि धराहराको जरामै बाँचे । आफू बाँच्ने आश मारिसकेका आदेश, आखिर बाँचिछाडे । आदेश आफ्नो साथीको होटेल उद्घाटनमा सहभागी हुनका लागि सुन्धारा पुगेका थिए । साथीको होटेल उद्घाटन कार्यक्रम सुरु हुन केही समय लाग्ने भएकाले उनी जुत्ता खरिद गर्नको लागि धराहरा नजिकै पुगे । आदेश कहालिलाग्दो क्षणबारे सुनाउँदै जान्छन्, ‘जमिन पूरै हल्लिन थाल्यो, जुत्ता भुइँमा फालेर दौडिए । दौडिन पनि कहाँ सक्नु ? रोडमै लडे । धराहरातिर हेरेको, धराहरा पनि हल्लिरहेको थियो । मलाई लाग्यो, अब बाँच्दिन ।’ दौडिन खोज्दा लडेर उनको खुट्टा नराम्रोसँग धसिएको थियो । उनले पाइन्ट उचाले र धसिएको खुट्टा देखाउँदै भने, ‘भुइँमा हेरेको १०, १२ जना मानिस हिडिरहेका थिए । त्यहाँ केही मोटरसाइकल पनि पार्किङ गरिएको थियो । धराहरा ढलिहाल्यो । म त बाँचे । तर, हिँडिरहेका धेरै मानिसहरु पनि धराहराको इतिहाससँगै सकिए । धराहरा टुप्पाको जालीमा अड्किएर तीन जना भने बाँचे । अरुको लाश मात्र देखियो । बाँच्नेमा एकजना बालिका थिइन् ।’
नविन थापा धुलैधुलो भएर धराहरा गेटभित्र बसी भग्नाअवशेष हेरी टोलाइरहेका थिए । उनको धराहरा अगाडि फेन्सी पसल थियो । उनले पनि देखे धराहरा ढलेको, आफू भने बाँच्न सफल भए ।

‘धराहरा बाँङ्गिसकेको थियो । सबै अल्मल्लिरहेका थिए । म भने शहिदगेटतिर हानिएँ’, थापाले धुलो हात टकटकाउँदै भन्छन्, ‘धराहरा धल्यो म बाँचे ।’ धराहरा ढलिसकेपछि उनीहरु भाइतेहरुको उद्दारमा लागे । केहीलाई जिउँदै उद्दार गर्न सफल रहे । अधिकांशको माटोबाट लासमात्र निकाले ।



















प्रतिक्रिया