
काठमाडौं, २० वैशाख । वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकद्वारा परिपत्रमा भनिएको छ, ‘अबदेखि विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ । विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेस गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुठो ठहरिएमा कानुनबमोजिम सहुँला, बुझाउँला भन्ने बेहोराको विद्युतीय रूपमा स्व. घोषणा गर्न लगाउनुपर्नेछ ।
यसैगरी, राष्ट्र बैंकले क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो । संशोधनअनुसार सामान्यतयाः क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइनेछैन । तर, अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन ।
केन्द्रीय बैंकले क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । सो रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
क्रेडिट कार्डबाट रकम झिक्न र बैंक खातामा ट्रान्सफर गर्न कडाइ गर्दै क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको हो । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ संशोधनमार्फत क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको हो ।
सामान्यतयाः क्रेडिट कार्डबाट रकम झिक्न पाइँदैन । क्रेडिट कार्डमा भएको पैसा वस्तु तथा सेवा किन्दा भुक्तानीका लागि मात्र प्रयोग गरिन्छ । त्यस्तै, यो पैसा बैंकको खातामा ट्रान्सफर गर्न पनि मिल्दैन । अत्यावश्यक अवस्थामा भने ग्राहकले यस्तो कार्डमा लोड भएको रकमको १० प्रतिशतसम्म झिक्न सक्नेछन् ।
बैंकले कार्डमै कर्जाका रूपमा रकम लोड गर्न सक्नेगरी क्रेडिट कार्ड दिएको हुन्छ । व्यक्तिको कर्जा तिर्ने क्षमताको आधारमा बैंकले प्रयोग गर्न सक्ने सीमा यसमा तोकेको हुन्छ । क्रेडिट कार्डले ग्राहकको खर्च क्षमता बढाउँछ । हालसम्म १ करोड २ लाखभन्दा बढी क्रेडिट कार्ड जारी भएका छन् ।
यसैगरी, विद्युतीय वालेटमा रकम लोड गर्दा एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने नियमसमेत नेपाल राष्ट्र बैंकले ल्याएको छ । नेपाल राष्ट्र बैंकले मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली पनि संशोधन गरेको छ, आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले समाचार लेखेका छन् ।















प्रतिक्रिया