
काठमाडौँ, १९ वैशाख । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको मेयरका एमालेका उम्मेदवार केशव स्थापितविरुद्ध जारी वक्तव्य २४ घण्टाभित्र हटाउन गैरसरकारी संस्था ओरेकलाई निर्देशन दिएको छ ।
साथै, आयोगले ओरेकलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ ।
सोमबार आयोगको बैठकले स्थापितको उम्मेदवारी खारेज गर्न माग गर्दै उम्मेदवारको मान प्रतिष्ठामा आँच आउनेगरि दिएको प्रेस वक्तव्य आचारसंहिताविपरित रहेको ठहर गर्दै तत्कालै हटाएर लिखित स्पष्टिकरण दिन ओरेकलाई निर्देशन दिएको हो ।
आयोगले रेनु अधिकारीले सञ्चालन गरेको महिला पुनःस्थापना केन्द्र (ओरेक) र त्यसमा आबद्ध ४० वटा परियोजनाबाट स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र फिर्ता लिएर हटाउन भनेको छ । त्यस्तै, आयोगले कुनै उम्मेदवारलाई भोट देउ वा नदेउ भनेर सामाजिक संस्थाले विज्ञप्ति जारी गरेमा किन कारवाही नगर्ने भनेर प्रश्न गरेको छ ।
आयोगले गैरराजनीतिक संस्थाले राजनीतिक उम्मेदवारहरुप्रति लक्षित वक्तव्य जारी गर्नु आचारसंहिता विपरीत भएको सम्बन्धित संस्थालाई पनि जानकारी गराएको छ ।
त्यस्तै, आयोगले उम्मेदवार स्थापितलाई पनि सचेत गराएको छ । केही दिनअघि एक कार्यक्रममा प्रश्नकर्तालाई ‘तपाईँ नाइस लेडी हो तर थुतुनोको शैली भएन’ भनेर जवाफ दिएकोमा समेत सचेत गराएको छ । आयोगले आचारसंहितालाई ख्याल गर्न स्थापितलाई सचेत गराएको हो ।















प्रतिक्रिया