
काठमाडौं, १९ वैशाख । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको ३० वर्षे सेवा अवधि आइतबार राति सकिँदै छ ।
नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकलाई सोमबार बिहान पौने ९ बजे गृहसचिवबाट दज्र्यानी चिह्न प्रदान गरिँदै छ । सोमबारदेखि नै दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले पदीय जिम्मेवारी वहन गर्नेछन् ।
बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ ।
रोलक्रममा तेस्रो नम्बरमा रहेको र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै पोखरेल र दोस्रो वरीयताका सहकुलबहादुर थापाले अदालतको ढोका ढकढ्याकाउने बताइसकेका छन् ।
तर, प्रहरी नियमावली, २०७१ को नियम ४१ मा एआईजीमध्येबाट सरकारले चाहेको व्यक्तिलाई महानिरीक्षक बनाउन सक्ने उल्लेख छ, आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले समाचार लेखेका छन् ।















प्रतिक्रिया