३० आश्विन २०८३, शुक्रबार

पशुपतिमा तीन सय जनाको अन्त्येष्टि, शव जलाउने ठाउँ समेत पुगेन (हेर्नुस् तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-aaryaghat5

काठमाडौँ, १४ वैशाख । विनाशकारी भूकम्पमा परेर काठमाडौँ उपत्यकामा ज्यान गुमाएकामध्ये आज दिउँसो ३ बजेसम्म ३०० जनाको पशुपति आर्यघाट क्षेत्रमा अन्त्येष्टि गरिसकिएको छ ।

आर्य र राजराजेश्वरी घाट क्षेत्रमा दाहसंस्कारका लागि बनाइएका घाट अपुग भएपछि वाग्मती नदी किनार र नदीको पानी बहाव क्षेत्रमा समेत चिता बनाएर जलाइएको थियो । भूकम्पमा परेर मृत्यु भएकाहरुको शव शनिबार साँझदेखि नै अन्त्येष्टिका लागि पशुपति क्षेत्रमा पु¥याइएको थियो ।

तिलगङ्गाको पुल नजिक पशुपतितर्फ नदी किनारमा समेत एकैसाथ १६ चिता बनाएर दाहसंस्कारसमेत गरिएको थियो । पशुपति क्षेत्रमा दाहसंस्कार गर्न हाल विशिष्ट व्यक्तिका लागि समेत गरी ढुङ्गाले निर्माण गरिएका १२ घाट छन् ।

भूकम्पमा परेर निधन भएकाको दाहसंस्कारका लागि चिता बनाउने र त्यसका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषलाई निकै चटारो परेको छ ।

पशुपति क्षेत्रमा रहेको दि टिम्बर कर्पाेरेसन अफ नेपालले भूकम्पमा ज्यान गुमाउनेको अन्त्येष्टिका लागि आवश्यक पर्ने दाउरा निःशुल्क रुपमा उपलब्ध गराइएको महाप्रबन्धक वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

दाहसंस्कारका लागि प्रतिव्यक्ति न्यूनतम २५० किलो दाउरा आवश्यक पर्नेमा हालसम्म ३०० जनाका लागि रु सात लाख ५० हजार बराबरको दाउरा उपलब्ध गराइसकिएको उहाँले बताउनुभयो । कर्पाेरेसनले थप दाउरा बारा र नवलपरासीबाट ल्याउने तयारी भइरहेको समेत जनाएको छ ।

कर्पाेरेसनको उक्त डिपोमा दुई हजार शवको दाहसंस्कार गर्न पुग्ने दाउरा मौज्दात रहेको बताइएको छ । चिता जलाउनका लागि आवश्यक पर्ने मुठा दाउरा, कपडा, घिउ, जौ÷तिललगायत सामग्रीको आवश्यक जोहो र व्यवस्थापनलाई विशेष ध्यान दिइएको पशुपति सेवा उपभोक्ता सहकारी संस्थाका सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।

दाहसंस्कारका लागि आवश्यक पर्ने पराल र मुठा दाउराको अभाव नहोस् भनेर दाउराका लागि काभ्रेपलाञ्चोक र परालका लागि ललितपुरका विभिन्न स्थानबाट आपूर्तिको व्यवस्था गरिएको घाट सेवा पसल सञ्चालक सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा चिताका लागि कम्तीमा पनि मसिनो खाले १० मुठा दाउरा र ४० मुठा पराल आवश्यक पर्छ ।”

पशुपति क्षेत्रमा अघिपछि सामान्य अवस्थामा दैनिक २० देखि ३० वटासम्म दाहसंस्कार काम हुने गर्दछ । शवको चाप अत्यधिक बढेपछि कोषले अन्त्येष्टिका लागि ब्राह्णलगायतको जनशक्ति दिन सकिरहेको छैन । भूकम्पमा परेर परिवार गुमाउन बाध्य व्यक्तिलाई दाहसंस्कार गर्ने क्रममा कुनै अप्ठेरो नपरोस् भनेर सदस्य सचिव गोविन्द टण्डन र सदस्य नरोत्तम वैद्य अहोरात्र खटेर व्यवस्थानमा ध्यान पु¥याइरहनुभएको छ । कोषले चिता जलाउनका लागि लिइँदै आएको शुल्क नलिने व्यवस्था मिलाएको छ । काठमाडौँमा शनिबार गएको ठूलो भूकम्पमा परेर एक हजारको हाराहारीमा मानिसको निधन भएको हालसम्म तथ्याङ्क सार्वजनिक भएको छ । रासस

 

Bhukampa-aaryaghat7 Bhukampa-aaryaghat6 Bhukampa-aaryaghat5 Bhukampa-aaryaghat2 Bhukampa-Aaryaghat1 Bhukampa-Aaryaghat01 Bhukampa-aaryaghat8