
काठमाडौँ, १४ वैशाख । शनिबारको विनाशकारी महाभूकम्पले देशभर पुर्याएको जनधनको क्षतिको विवरण आउने क्रम जारी छ ।
महाभूकम्पबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म देशभर तीन हजार ७३३ जना पुगेको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार हालसम्म सात हजार दुई जना घाइते भएका छन् ।
काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा लगायतका जिल्लामा भत्किएका घरबाट अझै सर्वसाधारणको शव झिक्न बाँकी रहेका कारण मृत्युको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।
विश्वकै उत्कृष्ट उद्दार टोली काठमाडौँ आइपुग्यो
काठमाडौँ उपत्यकामा भत्केका संरचनाहरुमा जीवित व्यक्तिको उद्धारका लागि सरकारले विश्वकै उत्कृष्ट चीनको ‘सर्च एण्ड रेस्क्यू’ टोलीको सहयोगमा उद्धार कार्य जारी रहेको छ ।
भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेसहित ६७ जना स्वयमसेवकले पनि उद्दार कार्य जारी राखेका छन् । जापानले पनि विशेषज्ञ टोली नेपालमा पठाउने भएको छ ।
आर्यघाटमा शव जलाउने ठाउँ छैन
महाभूकम्पपछि काठमाडौँको पशुपति आर्यघाटमा शव जलाउने ठाउँको समेत अभाव भएको छ ।
मानिसहरुको शव ल्याउने क्रम बढेपछि पशुपतिमा अन्तिम संस्कारका लागि स्थानको अभाव भएको छ । मानिसहरुले खुल्ला चौरमा समेत शव जलाइरहेका छन् । मृतकका परिवार, आफन्त र सर्वसाधारणको आँखा आँशुले भरिएको छ ।
सबैभन्दा धेरै मृत्यु सिन्धुपाल्चोकमा
शनिबारको महाभूकम्पबाट सबैभन्दा धेरै सिन्धुपाल्चोकमा जनधनको क्षति भएको देखिएको छ । अहिलेसम्म सिन्धुपाल्चोकमा एक हजार २१ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालका अनुसार, मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ । चौतारा बजारमा रहेका घाइतेहरूको उद्धार गर्न कठिनाई भइरहेको छ । सम्पर्क विहिन रहेको तातोपानी गाविसमा समेत घाइतेको उद्धारकार्यमा कठिनाई भइरहेको छ । चौतारा नगरपालिकासहित हगान, सेर्पाथाङ, नवलपुर, जलविरे, बाँसखर्क, गोल्छे, फुलपिङपट्टीलगायतका गाविसमा भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । मेलम्ची क्षेत्रमा डेढ सय जनाको शव प्राप्त भइसकेको छ । त्यहाँ अहिलेसम्म पनि उद्दार कार्य हुन सकेको छैन ।
सगरमाथा आधारशिविरमा मृत्यु हुनेको सङ्ख्या १९
भूकम्पका कारण सगरमाथाको आधारशिविरमा हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने ६१ जना बढी घाइते भएका छन् ।
तीमध्ये १८ को आधारशिविरमा र एक जना घाइतेको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । किनकी थुप्रै मानिस अझै सगरमाथाको हिमपहिरोमा फसेका छन् ।
हिमपहिरोमा परी मृत्यु हुनेमा बढी नेपाली र केही विदेशी पर्यटक छन् । हाल सगरमाथा आरोहणको याम भएकाले त्यस क्षेत्रमा विभिन्न आरोहण दलका ८०० भन्दा बढी आरोही तथा तिनका सहयोगी शेर्पाहरु रहेका छन् ।
८२ वटा भूकम्पको धक्का
अहिलेसम्म र रेक्टरभन्दा माथिको ८२ वटा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
आज बिहान ४ः१७ बजे काभ्रेको बनेपा केन्द्रबिन्दु भएर ४.५ रेक्टर र त्यसपछि सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ः२६ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
काठमाडौँ छाड्नेको संख्या बढ्यो
भूकम्पको सम्भावित त्रासले काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । तीन दिनयता लगातार रुपमा भूकम्पको झड्का महसुस भइरहेसँगै चोक–चोकमा पाल मुनी बस्न बाध्य अन्य जिल्लामा स्थायी बसोबास भई काम काजका कारण काठमाडौँ बस्दै आएका सर्वसाधारण यतिखेर आफ्नो जिल्ला फर्कने तयारीमा छन् ।
घर फर्कने यात्रुहरु कलङ्की क्षेत्रमा हिजो साँझदेखि बढिरहेको र आज बिहानैदेखि हजारौं यात्रुहरु घरजाने सवारी साधनको खोजीमा कलङ्की क्षेत्रमा रहेको प्रहरी नायब निरीक्षक दयाराम गिरीले जानकारी दिए । गिरीका अनुसार अहिले पनि लगभग पाँच हजारको संख्याका यात्रुहरु विभिन्न जिल्ला जाने सवारी साधनको खोजीमा छन् ।
नुवाकोट जिल्लामा मृत्यु हुनेको सङ्ख्या झण्डै पाँच सय
नुवाकोट जिल्लामा मृत्यु हुनेको सङ्ख्या झण्डै पाँच सय पुगेको छ । आज बिहानसम्ममा उपचारका लागि अस्पताल ल्याइपु¥याउँदा र बीच बाटैमा मृत्यु भएका तथा उद्धारका क्रममा घटनास्थलमै मृत भेटिएकाहरुको सङ्ख्याको आधारमा यो सङ्ख्या निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
ग्रामीण भेग सम्पर्कमा नरहँदा मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । नुवाकोटमा कम्तीमा पनि ७०० जनाको हताहत भएको अनुमान गरिँदैछ । ६०० जना बेपत्ता भएको अनुमान छ ।
करिव पाँच हजार जनाको जिल्लाका विभिन्न ठाउँमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडौँ पठाइएकाहरुको सङ्ख्या पनि कम्तीमा एक हजार जना रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दोलखामा यार्सागुम्बा खोज्न गएका तीन सय बेपत्ता
शनिबारको भूकम्पपछि दोलखामा तीन सय जनाभन्दा बढी यार्सागुम्बा सङ्कलक सम्पर्क बाहिर रहेका छन् ।
लामाबगर गाविसमा यार्सागुम्बा सङ्कलनमा गएका तीन सय जना भूकम्पपछि सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सम्पर्क बाहिर रहेका सङ्कलकहरु दोलखा तथा अन्य छिमेकी जिल्लाका समेत भएको हुनसक्ने प्रजिअ प्रेमलाल लामिछाने बताउनुभयो ।
भक्तपुरमा मृत्यु हुनेको सङ्ख्या २३२
भक्तपुरमा मृत्यु हुनेको सङ्ख्या २३२ जना पुगेको छ । घाइतेको सङ्ख्या एक हजार नाघेको छ । उद्धार गर्न नसकेपछि उद्धारकर्मी फर्किएका छन् । दिउँसो जिल्ला प्रशासन कार्यालयमा राहतका सामग्री र पाल माग गर्दै हजारौँ स्थानीयवासीले प्रशासन घेराउ गरेका छन् ।
भक्तपुर नगरपालिका अगाडिबाट पाल वितरण गर्न थालेपछि पाल लिन आउनेहरुले खोसाखोस गर्न थालेका छन् । त्यसपछि भएको ढुङ्गा हानाहानबाट भक्तपुर नगरपालिकाको गाडी तोडफोड भएको छ । भक्तपुर क्षेत्रमा परेको ठूलो वर्षाका कारण भूकम्प पीडितको बिजोग भएको छ ।
ललितपुरमै पुग्न सकेन उद्दार टोली
ललितपुर जिल्लाको थेचो गाविसमा अहिलेसम्म उद्धार तथा राहत वितरण हुन नसकेको स्थानीयले बताएका छन् । भूकम्पबाट तीन जनाको र भाग्ने क्रममा एक जनाको मृत्यु भएको स्थानीयबासी कल्पना मर्हजनले जानकारी दिए ।

भूकम्पले घर भत्किँदा घरभित्र भएको सबै अन्न पुरिएको र बाहिर पसलमा समेत खाने कुरा सकिएको हुँदा खाने कुरा र पानीको समस्या भएको छ । भूकम्पबाट थेचो गाविसका करिब ४० घर ध्वस्त भएका छन् ।
काभ्रेमा एक सय ९३ जनाको मृत्यु, सात सय भन्दा बढी घाइते
काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट अहिलेसम्म एक सय ९३ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार सात सय जनाभन्दा बढी घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार करिब २५ हजार घर क्षतिग्रस्त हुनुका साथै एक लाख मानिस विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जिल्लाका वनखुचौर र पोखरीचौरी गाविसका भूकम्प पीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोगमा ल्याउन लागिएको बताउनुभयो ।
प्रजिअ ढकालका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी ४९ जना, महादेवस्थान गाविसमा १७ जना तथा गौरीविसौना देउपुर र नयागाउँ देउपुर गाविसमा १६÷१६ जनाको मृत्यु भएको छ ।
“करिब ८५ प्रतिशत घर क्षतिग्रस्त भएको उहाँको भनाइ छ । पीडितलाई त्रिपाल र खानाको समेत समस्या भइरहेको बताइएको छ ।
मेलम्चीमा व्यापक क्षति, डेढसयको शव प्राप्त, उद्दार अझै भएन
भूकम्पका कारण मेलम्ची नगरपालिका र आसपासका क्षेत्रमा व्यापक मानवीय र भौतिक सम्पत्तिको क्षति भए पनि अहिलेसम्म उद्धारको कुनै प्रयास भएको छैन ।
उक्त घटनामा वृद्धवृद्धा र बालबालिकाको मृत्यु भएको छ । उक्त क्षेत्रमा अहिलेसम्म करिब १५० को शव निकालिएको र सयौँ घाइते भएका छन् ।
उक्त क्षेत्रमा अहिलेसम्म स्थानीय प्रशासनका तर्फबाट कुनै उद्धारको प्रयास नभएको र स्थानीयवासी उद्धारको पर्खाइमा रहेको स्थानीय सरोज चौलागार्इंले जानकारी दिनुभयो । अहिले उक्त क्षेत्रमा खानेपानीको समेत चरम समस्या भएको छ ।
चितवनमा मृतकको सङ्ख्या पाँच पुग्यो
चितवन, १४ वैशाख । भूकम्पका कारण चितवनमा थप दुई जनाको मृत्यु भएको छ । त्यस्तै उपचारमा आएका एक जनाको मृत्यु भएको छ । चितवनमा सबै गरेर मृतकको संख्या पाँच पुगेको छ ।
प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पूर्वी चितवनको खैरहनी सिमलटारीका ६० वर्षीय डोलराज परियारको मृत्यु भएको छ । त्यसैगरी, चण्डिभञ्ज्याङ मंगली चेपाङको पनि भूकम्पका कारण घर भत्कदा च्याप्पिएर मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । परियारको भूकम्पपछि हृदयघात हुँदा मृत्यु भएको हो ।
यसअघि रत्ननगर–१ का दामोदर मिश्र र काउले–९ की सोमा विकको मृत्यु भएको थियो ।
भारतले आफ्ना नागरिकलाई लिन २९ वटा गाडी पश्चिमी नाकाबाट पठायो
काठमाडौँमा आएको महाभूकम्पमा परी पीडित बनेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजान भारतले केहीबेरअघि सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट २९ वटा सवारी साधन काठमाडौँ पठाएको छ ।
भूकम्पमा समस्यामा परेका आफ्ना नागरिकलाई लिन भारतले चम्पावतका सहायक जिल्ला अधिकारी नरेश दुर्गा पालको नेतृत्वमा २५ वटा सरकारी बस र चारवटा जिप पठाएको गड्डाचौकी इलाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
काठमाडामा रहेको भारतीय दूतावाससितको समन्वयमा भूकम्पमा पीडित बनेका नागरिकहरुको उद्धार गरी स्वदेश फर्काउन स्थलमार्गबाट सवारी पठाइएको प्रहरीले जनाएको छ ।






















प्रतिक्रिया