
काठमाडौँ, १६ वैशाख । निर्वाचन आयोगले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न धम्की आएको भन्दै आपत्ति जनाएको छ ।
शुक्रबार आयोगले एक विज्ञप्तिमार्फत यस्ता गतिविधिले नगर्न सचेत गराएको छ ।
आयोगले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भन्दै सचेत गराएको हो ।
‘वैशाख १६ उम्मेदवारको नाम फिर्ता लिने सम्बन्धमा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानुन र लोकतन्त्रमाथि आघात पुर्याउने भएकोले यस्ता हर्कत नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ।’
दलहरुले निर्वाचन आचारसंहिता लागू गर्ने भनेर लिखित प्रतिवद्धता जनाइसकेका छन् । विशेषगरी सत्तारुढ गठबन्धनका दलहरुले आफ्ना पार्टीका तर्फबाट बागी उम्मेदवार बनेकाहरुलाई विभिन्न तवरले फिर्ता गराउन खोजिरहेका छन् । बिहीबार मात्रै भरतपुर महानगरपालिकाका कांग्रेसबाट स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ताका लागि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री भरतपुर पुगेका थिए ।
















प्रतिक्रिया