२९ आश्विन २०८३, बिहिबार

भूकम्पले नेताहरुको बुद्धि फिरोस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sabin-Priyasan-Dang

नेपाल विनाशकारी महाभूकम्पले दिएको दर्दनाक पीडाबाट ग्रस्त छ । सिंगो मुलुक शोकमा डुवेको छ । भूकम्पको प्रत्यक्ष असरबाट पीडित बनेकाहरु दुःखको गहिरो चपेटामा छन् । भूकम्पको प्रत्यक्ष असरमा नपरेकाहरु पनि कतिबेला के हुने हो भन्ने मानसिक त्रासमा बाँच्न विवश छन् । महाविपत्तिको प्रलयमा मुलुक डुबेपछि देशमा रहने मात्र होइन, बिदेशमा बस्ने नेपाली र गैरनेपालीहरु पनि यतिबेला नेपालको कहर छिटो अन्त्य होस् भन्ने कामना गरिरहेका छन् । दुःखमा शुभेच्छुकहरु चिनिन्छन् भने झैं यतिबेला नेपाल र नेपालीहरुप्रति माया दर्शाउन दर्जनौं मुलुक र संघसंस्थाहरु अगाडि बढेका छन् । यसले समेत नेपाल र नेपालीले सबै जसो मुलुकका लागि सदैव राम्रो काम गरेको थियो भन्ने पुष्टि गर्दछ । आपतबिपत परेको समयमा सहयोगी हातहरु फिजाउन आइपुगेका सबै विदेशी पाहुनाहरु बधाई एवं धन्यवादका पात्र छन् ।

भुकम्प जतिबेला जहाँ पनि जान सक्छ । यसलाई रोक्न सक्ने अहिलेसम्म कुनै त्यस्तो यन्त्र बनेको छैन । यसबाट बच्नका लागि अपनाइने साबधानीबाट नै यसको कहरबाट बच्न सकिने मार्ग हो । भूकम्पबाट जोगिन सर्वप्रथम भूकम्पप्रतिरोधात्मक भवन निर्माण गर्नुपर्छ । यसैगरी खुल्ला स्थानहरुको व्यवस्था गर्नुपर्छ । भूकम्प आउँदा कोठामा बस्नु भन्दा पनि सकेसम्म बाहिर निस्कने, बाहिर निस्कन नपाएमा खाट, टेबुल, ढोकाको तल बस्ने सवालमा ध्यान दिनुपर्छ । यसैगरी शरिरको नाजुक भागमा चोट लाग्न नदिएमा पनि भूकम्पका कारण भग्नावशेषमा पुरिएकाहरुलाई तीन–चारदिनपछि पनि उद्धारटोलीले जिवित निकालेका धेरै उदाहरणहरु छन् । दैनिकजसो नेपालमा भूकम्पको झड्का गइरहेको छ । यस्तो अवस्थामा सर्वसाधारणहरुले साबधानी अपनाउन जरुरी छ । भूकम्प गएपछि केही दिनसम्म यस प्रकारका झट्काहरु गइरहन्छन् । कुनै ठाउँमा महामारी फैलिने गरेका पनि छन् । यसैगरी भूकम्पको समयमा चोरिडकैती गर्ने ग्रुप पनि सल्वलाएको हुन्छ । तसर्थ प्रहरी प्रशासनले पनि यतिबेला तिब्ररुपमा शर्तकर्ता अपनाउन जरुरी छ । सिंगो नेपाल यतिबेला दुःखेको छ । दुःखको नेपाललाई राहत महसुस गराउनका लागि कुनै एकपक्षले मात्र भूमिका खेलेर हुँदैन । यसको लागि सबैले तदारुकता देखाउनुपर्छ ।

आज भूकम्पका कारण काठमाडौं, गोर्खालगायतका जिल्लाहरु पीडित बनेका छन् भन्ने चिन्तन् कसैले राख्छ भने यो गलत हो । नेपालीको मन जोकोही नेपाली पीडामा पर्दा समबेदनाका गुच्छाहरु थुंग्न सक्ने हुनुपर्छ । भूकम्पबाट पीडित बनेकाहरुलाई पुनःस्थापित गर्न राज्य, नागरिक समाज, राजनीतिक दल, संघसंस्था, उद्योगीहरु सबै लागि पुर्नपर्छ । काठमाडौं लगायतका जिल्लामा लागेको घाउको चरचराहटमा दाङलगायत सिंगो मुलुकबाट राहतको मलहम लगाउने सवालमा कुनै पनि किसिमको कञ्जुँस्याई गर्नुहुँदैन । प्रत्यक्ष भूकम्पको कहरमा परेकाहरुलाई सान्त्वना र धैर्यताको पाठ पढाउने सवालमा सबै गम्भीर र सम्वेदनशील हुनुपर्छ । नेपाल हाम्रो हो । हामी नेपाली सधैभरी एकतामा बाँचेका छौं । एकताबद्ध प्रयासबाट खण्डहर बनेको काठमाडौंलाई पुनः निर्माण गर्दै आकर्षणको केन्द्र बिन्दु बनाउने सवालमा सबैको सिर्जनशील सोंच आवश्यक छ । राज्यले प्रभावकारी योजना बनाउने, राजनीतिक दलहरु यसमा सहभागि हुने र सर्वसाधारण देखि सरोकारवाला सबै निकायहरु जिम्मेवारढंगबाट अग्रसर हुने हो भने विनाशकारी महाभूकम्पको दर्दनाक क्षेतिलाई थोरै दिनमा नै एकादेशको कथा बनाउन सकिनेछ । किनकि नेपालमा भएको क्षेतिलाई कम गर्न दर्जनौं देशहरुले ठूलो मन बनाएर सहयोगको घोषणा गरिसकेका छन् । विदेशबाट प्राप्त सहयोगको सहिमानेमा सदुपयोग गर्दै पीडितहरुलाई राहत र ध्वस्त संरचनाहरुलाई समय सापेक्ष तवरबाट पुनः निर्माण गर्ने सवालमा राज्यले प्रभावकारी भूमिका खेल्नुपर्छ । दिवंगत परिवारको उद्धार, घाइतेहरुलाई उचित स्वास्थ्य उपचारमा विशेषरुपमा ध्यान दिनुपर्छ । मुलुक धेरैवर्ष पछि अफ्ठ्यारोको संगीन मोढमा छ । यस्तो अवस्थामा मुलुकको समबेदनालाई सामूहिकरुपमा ग्रहण गर्ने नै हो । तसर्थ मुलुक सञ्चालन गर्ने नेताहरुले अब कुनै पनि प्रकारको तुष राख्नु भन्दा पनि एकै ठाउँमा आएर संविधान निर्माण गरि मुलुकको पुर्नःनिर्माण कार्यलाई सामूहिकरुपमा अगाडि बढाउनुको विकल्प छैन ।

प्रकृतिले पनि जेजसरी हुन्छ, मुलुकलाई एकतामा बाँध्नका लागि भूमिका खेलेको छ । यद्यपि यहाँ मुलुकले ठूलो क्षति व्यहोरेको छ । तर क्षति भइसकेकाले यसमा दुःखको आँशु बगाएर चिन्तामा डुबि रहनु भन्दा यसबाट पाठ सिक्नु ठूलो
कुरो हो । दलहरुलाई संविधान निर्माणका लागि पनि अब गम्भीर बन्नै पर्ने अवस्था सिर्जना भएको छ । अब पनि नेताहरुको बुद्धि फिरेन, अनावश्यक स्वार्थ र अडानमा रुमलिएर संविधानसभालाई मूर्खहरुको भेला बनाउन खोजियो भने यो भन्दा बिडम्वना अरु केही हुनेवाला छैन । मुलुकलाई प्रकृतिले नै ध्वस्त बनाइदिएको छ । तसर्थ यसको निर्माण गर्ने दायित्व मुलुक सञ्चालन गर्ने दलहरुको नै हो । सिंगो मुलुकले हारगुहार मागि रहेको समयमा अब पनि दलहरुको घैंटामा घाम लागेन भने जनताले त्यस्ता नेता र दलहरुलाई यसरी बढारने छन्, जसको लेखाजोखा गरेर साध्य छैन । मुलुकको पुनः निर्माण, पीडितहरुको उद्धार, दिवंगत परिवारलाई राहत, घाइतेको प्रारम्भिक र दिर्घकालिन उपचार, अहिलेको प्रमुख कार्यभार हो ।

यसैगरी संविधान निर्माण पनि त्यतिकै महत्वपूर्ण छ । तसर्थ यी दुबै कार्यलाई साथसाथै अगाडि बढाउने सवालमा दलहरुले मत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । मुलुक संकटमा फसिसकेको छ । संकटको दलदलबाट उकास्नका लागि बाहिरि देशहरुले टेवामात्र पु¥याउने हो, बल लगाउने यहीँका अगुवाहरुले हो । तसर्थ अहिलेको संकट कुनै एउटा अगुवाले बल लगाउँदैमा पार पाउने खालको छैन । सामूहिक प्रयास, साझा संकल्प, निश्वार्थ भावनाले मात्र भयानक पीडाबाट मुलुकलाई मुक्ति दिन सकिन्छ । मुलुकले अकल्पनिय क्षति र पीडा व्यहोरेकाले राज्यले मात्र यस्तो अवस्थामा राहत, उद्धार र निर्माणको काम गर्न सक्दैन । यसको लागि सर्वसाधारण देखि सरोकारवाला निकाय सबैले हातेमालो गर्नुपर्छ । जनस्तरबाट सहयोगी हातहरु फिँजिएमा मुलुकले छिटो यो पीडाबाट मुक्ति पाउनेछ ।