
हेटौँडा, १४ वैशाख । माधव नेपाल कम्युनिष्ट आन्दोलन सिध्याउने खेलमा लागेको बताउँदै मकवानपुरका अध्यक्षसहितका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका छन् ।
नेपालले नेपाली कांग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलन सिध्याउने मिसनमा लागेको भन्दै अध्यक्ष श्रीधरकुमार पोखरेलसहितका नेताहरुले राजीनामा दिएका छन् ।
गठबन्धनले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने र निर्वाचित निकायलाई केही दलको सिण्डिकेटबाट भ्रष्टाचारको अखडा बनाउने नियत देखिएको ठहर पोखरेलले वुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
‘नत यो विद्रोहले पार्टी निर्माण गर्न सक्छ र निर्वाचन पश्चात देशव्यापी रुपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलनसमेत क्षत विक्षत हुने ठहरका साथ मलाई ८ महिना नेकपा (एस) मकवानपुर जिल्लाको अध्यक्ष मै रहदा साथ सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद दिँदै कम्युनिष्ट आन्दोलनको रक्षाका लागि विद्रोह गर्न र व्यक्तिवादी प्रालिको विरुद्ध आवाज उठाउन हार्दिक अनुरोधसहित सबैप्रति आभार व्यक्त गर्दै आजका मितिबाट पार्टीको सदस्य समेत नरहने गरी पार्टीको सबै जिम्मेवारीबाट यो राजीनामा गर्ने निधो गरेको छु,’ पोखरेलले भने ।
पोखरेलसँगै नेकपा एसका जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र किसी र गोपालबहादुर स्याङ्तानले पनि पार्टी छाडेका हुन् ।
‘आज गठबन्धनको नाममा जे जसरी अँध्यारो कोठामा बसेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पर्ने गरी आफ्नो कुन्सित मनसाय पूरा गर्न जे षड्यन्त्र भइरहेको छ र एउटा निर्वाचित निकायलाई भोलि भ्रष्टाचारको अखडा बनाउने नियतप्रति मेरो असहमति जनाउँदै ८ महिना आगाडि भएको विद्रोह केवल कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्ति को महत्वकांक्षा र पद प्राप्तिको चरम इच्छा र सोचमात्र रहेछ’, पोखरेलले भने ।
















प्रतिक्रिया