
म्याग्दी, १४ वैशाख । नेपाली कांग्रेसका तर्फबाट म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका भवबहादुर भण्डारीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
गाउँपालिकाको कोषबाट जग्गा व्यवस्थापनका लागि लगेको १ करोड ४२ लाख रुपैयाँ पेश्की रहेको, स्थानीयबाट गाउँपालिकाका लागि भनेर प्राप्त भएको २० रोपनी जग्गामध्ये पाँच रोपनी गाउँपालिकाका नाममा राखेर अन्य जग्गा आफ्नो नाममा दर्ता गराएकोलगायत आरोप लगाउदै भण्डारीविरुद्ध निर्वाचन कार्यालयमा उजुुरी दर्ता भएको हो ।
नेकपा एमालेका तर्फबाट अध्यक्षका उमेदवार बनेका प्रेमबहादुर कार्की (दिपक विखर्ची) र अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका सागर भण्डारीले मंगलबार उजुरी दर्ता गराएको रघुगंगा गाउँपालिका निर्वाचन कार्यालयका अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिएका छन् ।
गाउँपालिकाको रकम व्यक्तिको नाममा खर्च गरेको भन्दै अध्यक्ष पदका दुई जना उम्मेदवारले उजुरी दिएको र निर्वाचन कार्यालयले यस विषयमा छानविन गर्ने निर्वाचन अधिकृत पौडेलले बताए । रघुंगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका भवबहादुर भण्डारीले गाउँपालिकाका लागि जग्गा व्यवस्थापन गर्न विनियोजन भएको रकमबाट आफ्नो नाममा जग्गा बनाएको आरोप अध्यक्षका उमेदवारहरुले लगाएका हुन् ।
दाताहरुले निःशुल्क रुपमा दिएको जग्गा गाउँपालिकाका नाममा ८ रोपनी र जग्गादाताहरुलाई १२ रोपनी फिर्ता गर्नुपर्नेमा गाउँपालिकाका अध्यक्षका रुपमा भण्डारीले ५ रोपनी गाँउपालिकाका नाममा राखी अरु जग्गा आफ्नो नाममा राखेको, पालिकाबाट लगेको रकम आफ्नो नाममा रहेको जग्गा व्यवस्थापनका लागि खर्च गरेको आरोप लगाइएको छ ।
उनको उम्मेदवारी खारेज गर्नुपर्ने माग उजुरीकर्ताहरूको छ ।
















प्रतिक्रिया