
काठमाडौं, १४ वैशाख । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बनेकाहरुको विरोधमा परेका उजुरीमाथि आजदेखि जाँचबुझ शुरू हुने भएको छ ।
आज र भोलि जाँचबुझ गरिने तथा पर्सि १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको छ । उम्मेदवारको विरोधमा हिजो ठाउँठाउँमा दाबी विरोधको उजुरी दर्ता भएको छ ।
ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेद्वार रहेका चिरिबाबु महर्जनविरुद्ध बेरुजु फर्छ्यौट नगरेको भन्दै उजुरी परेको छ भने अन्य धेरै पालिकाहरूमा पनि यस्तो प्रश्नहरू उठेका छन् । कतिपय पालिकामा गठबन्धनले महिला उम्मेदवार नदिएको विषयमा पनि उजुरीहरू परेका छन् ।
नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उम्मेदवारमाथि उजुरी दिन सकिन्छ । यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति पनि उम्मेदवार हुन पाउँदैनन् ।
जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए उसको उम्मेदवारी पनि रद्द हुन सक्छ ।















प्रतिक्रिया