राजधानीबासी शोकमा त डुबेका छन् नै, त्यो भन्दा निराश र त्रास देखिएको छ । किनकी अझै ठूलो भुकम्प आउँछ भन्ने हल्लाले सर्वसाधारणहरु आत्तिएका छन् । २४ घण्टा बित्न नपाउँदै आइतबार पनि ठूलो भुकम्प गएपछि सर्वसाधारणको मन झनै अशान्त बनेको हो । विदेशी मिडिया, नेपालका भूकम्पविद र ज्योतिषीका अनेक भविष्यवाणीले पनि सर्वसाधारणलाई अन्यौलमा पारेको छ ।
काठमाडौँ, १३ वैशाख। काठमाडौँका सडक सुनसान छन् । पसलहरु बन्द छन् । न त सार्वजनिक यातायातका साधन नै चल्न सकेका छन् । सर्वसाधारण नेपालीदेखि राष्ट्रपति डा. रामवरण यादवसम्मको बास खुल्ला चौर बनेको छ ।
राजधानीका कुनै पनि खुल्ला ठाउँ बाँकी छैनन्, सबैतिर सर्वसाधारणको भीड र चहलपहल देखिएको छ । सडकमा एम्बुलेन्स दौडिरहेको छ भने आकाशमा हेलिकप्टरको मात्रै आवाज सुनिन्छ ।
छिन छिनमा आउन भूकम्पको झ्टकाले नेपालमात्रै हल्लिएको छैन, नेपालका प्रत्येक नागरिकलाई पनि हल्लाएको छ । न भूकम्पको कम्पन शान्त भएको छ, न त नागरिकहरुको मन नै । त्यही अशान्त मन लिएर चौर र सडकमा छरप्रष्ट छन् राजधानीबासी ।
अझ भयावह बन्दै गएको राजधानीको चित्र, झनै दयनीय छ नागरिकको अबस्था । मर्ने त मरिनै हाले, बाँचेकाहरु पनि कतिबेला ठूलो भुकम्प आउने र परिवारलाई नै एकैचिहान बनाउने हो भन्ने त्रासमा घर छाडेर सर्वसाधारणको बास सडक र खुल्ला चौर बनिरहेको छ । सँधै कोलाहलयुक्त हुने राजधानीबासीमा शनिबार र आइतबार कामको कुनै चटारो देखिएन् । बरु, ज्यान बचाउन र आफ्ना आफन्तको अबस्था बुझ्नमै व्यस्त छन् ।
बाटोमा हिँडेका मानिसका साथमा पोका पुन्तुरा मात्रै देखिन्छन् । ती पोका पुन्तुराभित्र केही सास धान्ने खानेकुरा र ओढ्ने ओछ्याउने गुटमुटाइएको छ । शनिबार अधिकाँशले राजधानीबासीले खुल्ला आकाशमै रात बिताए । राजधानीका सडकमा भेटिएका केहीको हातमा पानीका जार र ज्यासको चुल्हो थियो, भने कोही पाल टाँगेर त्यहीँ मुनि पल्टिरहेका भेटिए ।
सबैभन्दा विडम्वना, न पसल खुलेको छ । न सार्वजनिक यातायातका साधन संचालनमा आएका छन् । फाट्टफुट्ट खुलेका पसलहरुमा खानेकुरा किन्नेको लाइन छ । यही मौका छोपेर कतिपय व्यापारीले कालोबजारी समेत गर्न भ्याएका छन् ।
अझ पर्यटकको त बिचल्ली नै छ । पर्यटकले पानी पिउन र शौचालय जान समेत पाएका छैनन् । नारायणहिटीको खुल्ला चौर र उपराष्ट्रपति भवन वरपर पर्यटकहरु बराल्लिएको देखिन्छ । न पर्यटन व्यवसायीले उनीहरुको चिन्ता गरेका छन्, न त सरकारले नै उनीहरुको वास्ता गर्न भ्याएको छ । कतिले भन्छन्– पैसा पनि छैन । कसरी बाँच्ने ? पैसा खल्ती हुनेहरुले पनि किनेर खान पाएका छैनन् ।
राजधानीबासी शोकमा त डुबेका छन् नै, त्यो भन्दा निराश र त्रास देखिएको छ । किनकी अझै ठूलो भुकम्प आउँछ भन्ने हल्लाले सर्वसाधारणहरु आत्तिएका छन् । २४ घण्टा बित्न नपाउँदै आइतबार पनि ठूलो भुकम्प गएपछि सर्वसाधारणको मन झनै अशान्त बनेको हो । विदेशी मिडिया, नेपालका भूकम्पविद र ज्योतिषीका अनेक भविष्यवाणीले पनि सर्वसाधारणलाई अन्यौलमा पारेको छ ।






























प्रतिक्रिया