
काठमाडौँ, ७ वैशाख । मंगलबार मध्यरातमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पनि भागवण्डा मिलाउन सकेन छ ।
गठबन्धनले महानगरपालिकाको भागवण्डा मिलाए पनि उपमहानगरपालिकाको बाँडफाड सकसपूर्ण देखिएको छ ।
यसै क्रममा जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछि आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
जनकपुर र नेपालगञ्ज उपमहानगरपालिकाको दुवै मेयरको पदमा जसपाले दावी नछोडेपछि समस्या उही रहेको हो ।
११ वटा उपमहानगरमध्ये धरान र धनगढीमा कांग्रेसले मेयर र माओवादीले उपमेयर तथा इटहरी, बुटवल र तुलसीपुरमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर पाउने सहमति भएको छ ।
त्यस्तै, घोराही र जितपुर–सिमरामा माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिने गरी बाँडफाँट भएको छ ।
हेटौंडामा मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेस तथा कलैयामा मेयर कांग्रेस र उपमेयर जसपाले पाउने सहमति भएको छ ।
६ वटा महानगरमा कांग्रेसले ३ वटा, माओवादी, जसपा र नेकपा एसले एक एक वटा मेयर पाउने सहमति भइसकेको छ ।
यद्यपि गठबन्धनका शीर्ष नेतृत्वले बालुवाटारमा गरेको सहमतिमा भने स्थानीय नेता कार्यकर्ताहरुले आक्रोश र असन्तुष्टि पोखेका छन् ।
भरतपुर, पोखरा र वीरगञ्जमा अरु दललाई नेतृत्व दिने प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले निर्णय गरेसँगै कांग्रेसका भूगोलका नेता कार्यकर्ताहरुले असन्तुष्ट व्यक्त गरेका हुन् ।
उनीहरुले विद्रोह गर्ने र निर्वाचनको परिणामको जिम्मा नलिनसम्म चेतावनी दिएका छन् । उता पोखरामा गठबन्धनका उम्मेदवारले कांग्रेसको रुख चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने कांग्रेसका नेताहरुले शर्त राखेका छन् । नत्र गठबन्धन बहिष्कार गर्ने उनीहरुको चेतावनी रहेको छ ।















प्रतिक्रिया