
काठमाडौं, ६ वैशाख । ग्यास उत्पादक कम्पनी आवश्यकताभन्दा बढी ग्यास उत्पादन भइरहेको बताउँछ ।
बिक्रेताहरू बजारमा मागबमोजिम ग्यास पठाइरहेको दाबी गर्छन् । ग्यास पसलेहरू कम्पनीले ग्यास नदिएका कारण उपभोक्तालाई ग्यास दिन नसकिएको बताउँछन् । तर, उपत्यकाका हरेक पसलदेखि चोकमा ग्यासका रित्ता सिलिण्डर राखेर उपभोक्ता घन्टौँ लाइनमा छन् । त्यसो भए कहाँ हराए भान्सामा प्रयोग हुने ग्यासका सिलिण्डर ?
उत्पादकदेखि ग्यास बिक्रेतासम्मले ग्यास अभाव नभएको बताइरहँदा उपभोक्ता भने लामो समयदेखि ग्यासका सिलिण्डर बोकेर लामो लाइनमा छन् । नेपाल आयल निगमसमेत सहज आपूर्ति भएको दाबी गरिरहेको छ तर वास्तविकतामा भने ग्यासको अभाव चरम छ ।
ग्यास अभाव हुनुमा एकले अर्कोलाई दोषी देखाइरहेका छन् । उपभोक्ताले घरमा सिलिण्डर राखेका कारण वितरण व्यवस्था अस्तव्यस्त भएको वितरकले दाबी गरिरहँदा खाली सिलिण्डरचाहिँ उपभोक्ताकहाँ कसरी थन्किए भन्ने प्रश्न गम्भीर पनि छ ।
नेपाल एलपी ग्यास उद्योगका संघका अध्यक्ष कुशप्रसाद मल्ली भन्छन्, ‘दैनिक १ लाख ३० हजार ग्यास सिलिण्डर भरेर बजारमा पठाइरहेका छौँ । गत वर्ष यही समयमा दैनिक ८० हजारदेखि ८५ हजार सिलिण्डर बजारमा पठाउँदा पनि ग्यासको अभाव देखिएको थिएन ।’
अहिले गत वर्षको तुलनमा दैनिक ५० हजार बढी सिलिण्डर बजारमा पठाउने गरिएको उनको भनाइ छ । तर पनि बजारमा अभाव देखिनुको कारण अघिल्लो महिना ग्यास आपूर्तिमा अवरोध हुनु भएको उनी बताउँछन् । उक्त समस्या अबको ५ देखि १० दिनभित्र समाधान हुने बताउँदै उनले भने, ‘बजारमा भएका खाली सिलिण्डर भरिएपछि कुनै समस्या आउँदैन ।’
ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल आवश्यकताभन्दा धेरै ग्यास सिलिण्डर बजारमा हुँदा अहिले ग्यासमा समस्या देखिएको दाबी गर्छन् । उनका अनुसार बजारको माग मासिक ८० लाख सिलिण्डर मात्र हो तर बजारमा १ करोड ५० लाख सिलिण्डर वितरण गरिएको छ । बजारमा ग्यास अभाव भएको सुनेपछि उपभोक्ताले आफूसँग भएका सबै खाली सिलिण्डर निकालेर भर्न थालेपछि आपूर्ति व्यवस्थापनमा समस्या आएको उनको भनाइ छ ।
‘नेपाल आयल निगमले बजारमा आवश्यकभन्दा बढी ग्यास सिलिण्डर उद्योगलाई उत्पादन गर्न दिएका कारण समस्या भएको उनको दाबी छ । सिलिण्डर बढी उत्पादन भएकै कारण एउटा उपभोक्ताले ५ वटासम्म ग्यास घरमा थन्क्याएर बस्दा समस्या भएको उनको दाबी छ ।
‘निगमले उद्योगीलाई मनपरी नयाँ ग्यास सिलिण्डर उत्पादन गर्न दिँदा समस्या आएको हो, निगमले उद्योगीलाई अनावश्यक ग्यास सिलिण्डर बनाउन नदिने हो भने यस्तो समस्या आउँदैन’, उनी भन्छन् ।
नेपाल आयल निगम एलपी ग्यास तथा एभिएसन विभागका निर्देशक नेत्रप्रसाद काफ्ले ग्यास आपूर्तिमा केही समस्या नभएको बताउँछन् । उनले दैनिक जस्तो १२५ देखि १३५ वटा ग्यासका गाडी लोड भएर आइरहेका बताए । बीचमा ग्यास ढुवानीकर्ताले ढुवानीको भाडा बढाउन माग गर्दै ग्यास आपूर्ति बन्द गर्दा बजारमा ग्यासको समस्या देखिएको उनको भनाइ छ । निर्देशक काफ्ले पछिल्लो ग्यास आपूर्तिमा कुनै समस्या नभएको बताउँछन् ।
उता, ग्यास बिक्री गर्ने पसलेहरू भने आफूहरूलाई उद्योगबाट ग्यास नै नदिइएको बताउँछन् । ललितपुरको लुभुस्थित जानुका ग्रोसरीकी ग्यास बिक्रेता भन्छिन्, ‘१० दिनदेखि सिलिण्डर दिएका छैनन्, आइहाल्यो भने पनि १० वटा आउँछ ।’ उनले पसलमा आफूसँग १०० भन्दा बढी खाली सिलिण्डर जम्मा भइसकेका बताइन् ।
ग्यास उद्योगी र सरकारी निकायले बजारमा ग्यास आपूर्ति समस्या नभएको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । एउटा ग्यास सिलिण्डर भर्न घन्टौँ लाइन बस्नुपरेको छ । अनामनगरमा भेटिएकी एक गृहिणी १० दिनदेखि पसलमा धाउँदा पनि आफूले ग्यास नपाएको बताउँछिन् ।
सरकारले ग्यास उद्योगी, व्यवसायीका मागहरू पूरा नगर्दा र उद्योगी, व्यापारीले ग्यास आपूर्तिमा अवरोध गर्दा उपभोक्ताले त्यसको मार खेप्नुपरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । सरकार उपभोक्ताप्रति जिम्मेवार नहुँदा उभपोक्ताले सधैँ ग्यास अभावको समस्या झेल्नुपरेको अध्यक्ष महर्जनको भनाइ छ । उनले उपभोक्ताप्रति सरकार जिम्मेवार नहुनाले उपभोक्ताले यस्ता समस्या भोग्नुपरेको बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले उपभोक्ताबाट ग्यास अभावको गुनासो आएपछि विभागले ग्यासमा अनुगमन गरेको बताए । उनले बजारमा ग्यास अभाव भएको हल्ला जस्तो ग्यासको अभाव नरहेको दाबी गरे, आजको द नेपालटप दैनिकमा कौशिला कुँवरले समाचार लेखेकी छिन् ।















प्रतिक्रिया