
-माधव बेल्वासे
चन्द्रौटा, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले शिवराज नगरपालिकाका उम्मेदवारहरू टुङ्गाएको छ । सोमवार चन्द्रौटामा पार्टी कार्यालयको उद्घाटन कार्यक्रमको अवसरमा मेयर पदमा सईद अहमद शाह र उपमेयरमा विपसा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष रहेका शाहले आफ्नो एकल नाम सिफारिस भएकोले निर्वाचनमा सबैको सहयोग हुने बताए । उनले मेयर पदको उम्मेदवारी घोषणा गर्दै अन्य पार्टीलाई पटक पटक हेरेको भए पनि एक पटक राप्रपालाई जिताउन अपिल गरे । नगरको विकास गर्ने योजना आफू सँग रहेकोले केही दिनमै घोषणा पत्र सार्वजनिक गर्ने शाहले बताए ।
राप्रपा प्रति नागरिकहरूको आकर्षण बढी रहेको र आफूले नेतृत्व गरेर शिवराजमा हुने निर्वाचनमा आफू लागि पर्ने बताए । त्यस्तै उपमेयरमा विपसा चौधरीको नाम सिफारिस भएको छ । नगर बासीहरूको चाहाना अनुसार विकास हुने भएकोले मतदान गरी निर्वाचित गराउन चौधरीले अपिल गरे ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य ध्रुव रायमाझीले राप्रपाले छनोट गरेका उम्मेदवारहरूमा कुनै शङ्का नगर्न आग्रह गरे । मुलुकको विकासको लागि राप्रपाको जित आवश्यक रहेकोले यसमा सबै समुदायले सहयोग गर्नुपर्ने उनको भनाई छ ।















प्रतिक्रिया