
काठमाडौं, ५ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शनिबार एउटा सार्वजनिक कार्यक्रममा सत्ता गठबन्धन दलबाट पनि आफूलाई अपमान भएको बताए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अपमान महसुस भएपछि नयाँ पार्टी दर्ता गरेका नेपाल कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहितका दलसँग गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा उत्रँदै छन् ।
गठबन्धन दलभित्र अघिल्लो चुनावमा जितेका स्थानमा स्वतः सोही पार्टीका प्रतिनिधिले पाउने समझदारी बनेको छ । यो समझदारीले अन्तिम रूप नलिँदै स्थानीय स्तरमा असन्तुष्टि देखिन थालेपछि भागबण्डा टुङ्गिएको छैन ।
आइतबार बसेको गठबन्धन दलको बैठकमा कांग्रेसबाहेक सबै दलले पालिकाहरूमा आफ्नो दाबेदारीको फेहरिस्त प्रस्तुत गरे ।
नेकपा एसका महासचिव डा. बेदुराम भुसालका अनुसार पार्टीले एमालेले जितेका ५० प्रतिशत पालिकामा दाबी गरेको छ । तर, कांग्रेस र माओवादीका नेताहरूले यो सम्भव नहुने दोहोर्याए ।
एसका महासचिव भुसालका अनुसार पार्टीले ७५३ वटै पालिकामा सङ्गठन विस्तार गरेको छ । भुसालका अनुसार ६ हजार ७४३ वडामा एकीकृत समाजवादीको सङ्गठन विस्तार भएकाले एमालेले अघिल्लो स्थानीय तह निर्वाचनमा जितेकामध्ये ५० प्रतिशत पालिकामा स्वाभाविक दाबी गरिएको हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले २९४ पालिका जितेको थियो । यसको आधा अर्थात् १४७ पालिकामा नेकपा एसको प्रमुख पदमा दाबी छ । भुसालका अनुसार एमालेबाट ५० प्रतिशत कार्यकर्ता आफ्नो पार्टीमा आएका छन् । तर, वास्ताविकता भने उनले दाबी गरेजस्तो नरहेको गठबन्धन दलका नेताहरू बताउँछन्, आजको द नेपालटप दैनिकमा समाचार प्रकाशित छ ।















प्रतिक्रिया