
काठमाडौं, ४ वैशाख । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विषयले असन्तुष्टि बढ्दै गएको छ ।
कांग्रेसभित्र तालमेलको विषयले केन्द्रदेखि जिल्ला तह हुँदै स्थानीय तहसम्म असन्तुष्टि बढ्न थालेपछि सत्तारूढ दलका बीचमा हुने भनिएको चुनावी तालमेलमा पनि गडबडी देखिन थालेको छ ।
पार्टी केन्द्रले सत्तारूढ पाँच दलबीच गरेको गठबन्धनको निर्णय जिल्ला तथा स्थानीय तहले नमान्ने भन्दै धमाधम निर्णय गर्न थालेपछि सत्तारूढ दलबीचमा हुने भनिएको तालमेल अन्योलमा पर्दै गएको हो । तालमेल अहिले सबैभन्दा बढी असन्तुष्टि कांग्रेसको तल्लो तहसम्म पुगेको छ ।
कांग्रेसको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत तालमेलको निर्णय केन्द्रबाट जबरर्जस्ती थोपर्न नहुने भन्दै पार्टी पदाधिकारीले नै असन्तुष्टि पोखेका हुन् ।
बैठकमा धारणा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले २०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा कांग्रेसले माओवादीका उम्मेदवारलाई सघाएकाले अहिले माओवादीले कांग्रेसलाई सघाउनुपर्ने धारणा राखे ।
गठबन्धनमा गडबडीको संकेत
आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
केन्द्रीय स्तरमा पाँच दलीय गठबन्धनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेर सिट बाँडफाँडको मापदण्ड गृहकार्य गरिरहेको छ । यो समितिमा गठबन्धनभित्र रहेका दलबाट दुई दुई जना सदस्य रहेका छन् । तर, यो समितिले अझै सिट बाँडफाँड गर्न सकेको छैन ।
सिट बाँडफाँड गर्न नसकेको सत्ता गठबन्धनले नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउन भनेको छ ।
तर, जिल्ला जिल्लामा गठबन्धनभित्र रहेका दलबीच असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा एक दलका नेताले अर्को दलका नेतालाई स्वीकार गर्न सकेका छैनन् । आफ्नो पालिकामा एकले अर्कोलाई सहयोग नगर्ने अडान लिँदै गठबन्धनभित्रका नेताले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
चितवनमा गठबन्धन दलबीच चर्को विवाद रहेको छ । भरतपुर महानगरमा माओवादीका उम्मेदवारलाई मेयरमा स्वीकार गर्न नसकिने भन्दै कांग्रेस स्थानीय नेता कार्यकर्ता विरोधमा उत्रेका छन् । भरतपुरका ५० जना कांग्रेसका पूर्ववडाध्यक्ष, पार्टीका पूर्ववडा सभापतिले शनिबार राजीनामा दिएका छन् ।
भरतपुर महानगर माओवादीलाई दिने आन्तरिक सहमति गठबन्धनभित्र भएपछि कांग्रेसका ५० भन्दा बढीले राजिनामा दिँदै स्वतन्त्र उम्मेदवारी दिने उद्घोष गरेका छन् । स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।
यस्तै, वीरगन्ज महानगरपालिमा कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । कांग्रेस पर्सा जिल्ला कमिटीले वीरगंजसहित पर्साको अन्य पालिकामा समेत कांग्रेस एक्लै चुनाव गर्ने उद्घोष गरेको छ । वीरगन्जमा गत निर्वाचनमा जसपाले मेयर जितेको थियो । तर, जसपाबाट मेयर जितेका विजय सरावागी एमालेमा प्रवेश गरिसकेका छन् । वीरगन्ज महानगरसहित पर्साको पालिकामा सत्तारूढ गठबन्धनभित्रै प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
आजको राजधानी दैनिकमा महेश्वर गौतमले ‘तालमेलले कांग्रेसमा फेरि विवाद’ र सुभाष साहले ‘गठबन्धनमा गडबडीको संकेत’ शीर्षकमा समाचार लेखका छन् । समाचार अनुसार पाँच दलीय सत्ता गठबन्धन कुनै पनि स्थानीय तहमा प्रभावकारी नहुने विश्लेषण समेत गरिएको छ ।















प्रतिक्रिया