
काठमाडौं, ३ वैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको छ।
प्रचण्डले भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई मेयरमा फेरि उठाउनका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मनाए। तर, चितवन कांग्रेस भने रुष्ट भएको छ। कांग्रेसको शेखर कोइराला समूहले मेयरमा रेणुलाई छाड्ने हो भने संघीय चुनावमा प्रचण्डले चितवनको निर्वाचन क्षेत्रमा कांग्रेसलाई सघाउनुपर्ने अडानमा छ।
‘गठबन्धन गरेपछि दुवै हातमा लड्डु त कहाँ पाइन्छ? कि छोरीको मोहलाई त्याग गर्नुपर्छ कि आफूले छाड्नुपर्छ’, कोइरालाले एउटा अन्तरवार्तामा भनेका छन्,‘यो कुरा प्रचण्डजीले जान्नुपर्ने र निर्णय लिनुपर्ने विषय हो। कांग्रेसले छाड्दै जाने भन्नेचाहिँ हुन्न।’
प्रचण्डले शनिबार मात्र चितवनमा पुगेर भरतपुरको मेयरबारे टुंगो लाग्ने बताएका छन्। आइतबारसम्म उम्मेदवार बारे गठबन्धनको निर्णय आउने उनले बताए। उनको भनाईले अहिलेसम्म गठबन्धनको मोडालिटी तयार भएपनि एकताबद्ध भएर जाने विषयमा भने विवाद कायमै रहेको जनाउँछ।
उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनावमा एमालेले जितेका ठाउँमा दाबी गरेका छन्। भागवन्डामा कम्तिमा ६० प्रतिशत एमालेले जितेका पालिका आफ्नो पार्टीका उम्मेदवार हुनुपर्ने र गठबन्धनले सघाउनुपर्ने नेपालको अडानका कारण पनि खटपट छ।
माओवादी केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले नै उक्त विषय सार्वजनिक गरेका थिए। उनले बैठकमा भने,‘आफ्नो पार्टीको हैसियतभन्दा धेरै माधवजीले मागेका कारण सहमति हुन सकेको छैन।’
नेपाली कांग्रेसलेचाहिँ आफूले जितेका ठाउँ लिने र त्यसबाहेक अन्य ठाउँमा ठूलो पार्टीको हैसियतमा भाग पाउनुपर्ने स्पष्ट धारणा राखेको छ।















प्रतिक्रिया