
-एसपी उप्रेती
संसार निकै अघि बढी सक्यो । मानिसको विकासले चरमतालाई छोएको छ । मानिसकै अथक मेहनत र प्रयासले नै दुनियाँमा विभिन्न कायापलटहरु भएका छन् । मानिसको शक्ति असिमित छ । यो अनगिन्ती तथ्यहरुले सिद्ध कुरा हो ।
यति शक्ति कि विश्व ध्वस्त बनाउन समय लाग्दैन । सयौँ वर्ष कल्पना नगरिएका कुराहरु पनि आज भइसकेका छन् । अझ सूचना प्रविधिको क्षेत्रमा हेर्ने हो भने त यो ऐतिहासिक स्वर्णिम युग नै हो भन्ने आभास हुन्छ । यी सबै कुराहरु मानव जातिकै अविछिन्न परिश्रम, लगाव अनि सामूहिक अभ्यासका उपलब्धिहरु हुन् ।
यसरी हेर्दा मानिस जस्तो शक्तिशाली साँच्चै के नै रहेछ र जस्तो लाग्छ । तर अर्कोतर्फ कोरोनाभाइरसको विश्वव्यापी महामारीलाई मध्यनजर गर्दा मानिसले अझै पनि विकास गर्न, जान्न, बुझ्न धेरै बाँकी छ । यही महामारीमा मानिसले पाएको भावनात्मक पीडाको प्रभाव कम गर्ने स्थायी उपाय मान्छेले देखाउनै सकेन । फलस्वरुप मानिसहरु विभिन्न किसिमका मानसिक उत्पीडनको शिकार बन्न पुगेको विकराल अवस्था हामी कहाँ छर्लङग छ ।
अर्को पाटो केलाउँदा हामी कति कमजोर रहेछौँ भन्ने पनि अनुभूति हुन्छ । साना तिना तुच्छ कुराहरुले जीवनमा निकै ठूलो प्रभाव जमाइरहेको हुन्छ । देखिने कुराहरुको भन्दा सयौँ गुणा बढी असर नदेखिने विषयहरुको हुने गर्दछ । जसरी एउटा रुखको जरा हामी देख्दैनौ, त्यसको बारेमा सोच्दैनौ पनि तर त्यसको छहारीमा बस्छौँ । फल खान्छौँ । तर जराको अवस्था के छ भनेर सामान्यतया हामीलाई थाहा हुन्न ।
हो, रुख मर्न लागेको छ भने मान्छेले बुझ्छन् । ठीक त्यस्तै, हाम्रो जीवनमा पनि नदेखिने वस्तु सोच, विचार, भावनाका कराहरुको एकदमै ठूलो प्रभाव हुने गर्दछ । यसबारे हामी त्यति बोल्दैनौ । यसलाई हामीले जति उपेक्षा गर्दछौँ अवस्था त्यति नै विकराल र भयानक बन्ने हुनसक्छ । र त्यसका असरहरु देखिने गरी भइसक्दा अफसोच ढिलो भइसकेको हुन सक्छ ।
यहाँ जोड्न खोजिएको मूल प्रसंग भनेको मानिसको आन्तरिक अवस्थालाई मजबूत बनाउने कुरा हो । हामी जहिले पनि नयाँ पन, नयाँ भाव, नयाँ जीवनको कुरा गर्छौँ । रहर मात्रै होइन मानिसको खोजी नै त्यही हुन्छ कि म कसरी हिजो भन्दा आज नयाँ अनि उन्नत बनौँ । यो चिन्तन आफैँमा निकै स्वभाविक हो । मानिसको मस्तिष्क नै यसरी संरचित छ कि नयाँ नयाँ तौरतरिका, रमाउने शैली, फरक अनुभूति आदिको खोजीमा हुने गर्दछ । त्यही क्रममा आफूलाई हिजो भन्दा आज अनि आज भन्दा भोलि फरक तर सोचेअनुरुपको जीवन बाँच्न मन हुन्छ । त्यसका लागि पनि हाम्रो आन्तरिक अवस्था भने स्थीर र मजबुत हुन आवश्क छ ।
यो नयाँ वर्षमा पनि मानिसले विभिन्न स्थान गएर, केही संकल्प गरेर, आफैँलाई नयाँ महसुस गरेर, आगामी दिनहरु राम्रो बनाउने यात्रामा लागेका छन् । तर सत्य त यो हो कि तपाईँ जहाँ गए पनि आफ्नो विचार, मन अनि भावना आफैँसँग हुन्छ । तसर्थ मूलभूत कुरा मानिसको भावना हो । भावले मानिसलाई सक्रिय र निष्क्रिय दुवै बनाउँछ । शक्तिशाली र कमजोर बनाउने पनि भावना नै हो ।
तपाईँलाई कस्तो महसुस भइरहेको छ ? दिनभरी जसो तपाईँ अक्सर कस्तो महसुस गर्नुहुन्छ ? ति भावनाले तपाईँको दैनिक कर्महरुमा कतिको सहयोग गरिरहेको छ ? वा दुःख दिइरहेको छ ? यी मूख्य कुरा हुन् । खासमा कुनै पनि समस्या दुःखदायी हुन्छ । त्यसमा पनि भावनात्मक पीडा निकै भयानक हुने गर्दछ । तपाईँ सहज देखिनुहुँदो हो । तर मनमनै जलेको, विचार विकृत भएको, जोश जाँगर ढलेको मान्छेले देख्दैन । र तपाईँको कुरा सुनाउने मान्छे नि हुँदैनन् । त्यस्तो बेला तपाईँलाई लाग्नेछ कि जीवनमा भावनात्मक अड्चन कति खतरनाक हुन्छ भनेर ।
मेरो आफ्नो जीवनमा पनि निकै सानैदेखि दुःखद भावनात्मक अनुभवलाई संगाल्दै आउनु परेको थियो । म अक्षर चिन्ने हुँदा परिवारले आर्थिक दुरावस्था भोगेको याद छ । जीवनमा हरेक अभावलाई नजिकैबाट नियालेको छु । मेरो आमाबुबाको ती प्रयासहरुलाई अनुभूत गरेको छु । म सानो हुुँदा मैले कुनै पनि मेरा रहरहरु पूरा गरिनँ । म जिद्दी पनि गर्दिनथेँ । लाग्छ सायद म उतिखेरै देखि बुझ्ने भइसकेको थिएँ परिवारको अवस्था ।
तर त्यसबेला मलाई मेरी आमाले सम्झाउनु भयो । जीवनका पाटोहरुका बारेमा जानकारी गराउनु भयो । म धेरै रोएँ । आँसुसँगै केही भावहरु बगे । धेरै कुरा गुम्यो मेरो ।
त्यस्तै, एसएलसी सकिएपछिको केही महिनामै बुबाको निधनलाई आत्मसात गर्नुपर्यो । एउटा करिब १६ वर्ष लाग्दै गरेको किशोरलाई घटना के थियो होला ? म पूर्ण रुपमा टुटेको थिएँ । मेरा आगामी दिनहरु सबै अध्याँरा लागेका थिए । कतिसम्म भने अब म किन बाँच्नेसम्मको भावना आएको थियो । आइएससीको पढाइ छोड्ने निर्णय समेत गरेको थिएँ । र उमेर बढाएर नागरिकता बनाएर विदेश गएर कमाउने योजना बनाएको थिएँ । कमाउन गएको भए के हुन्थ्यो होला ? त्यो छुट्टै विषय होला ।
तर त्यसबेला मलाई मेरी आमाले सम्झाउनु भयो । जीवनका पाटोहरुका बारेमा जानकारी गराउनु भयो । म धेरै रोएँ । आँसुसँगै केही भावहरु बगे । धेरै कुरा गुम्यो मेरो । तर पनि मेरो साथमा आमा हुनुहुन्छ । हरेक तवरले साथ दिने बैनी छिन् । भन्ने महसुस गरेँ । त्यो अवर्णनीय पीडामा आमाको निरन्तर साथ रह्यो । लाग्छ त्यसैले मलाई पुनः अघि बढ्न हौसला दियो । अन्ततः ति सबैलाई स्वीकार्नु बाहेकको जीवनमा कुनै विकल्प नै रहेन । र मैले स्वीकारेँ । अब जीवनको रथ मेरो काँधमा आइपुग्यो । मेरी देवता समान आमाको आशीर्वादले उहाँको रेखदेख, बैनीको पढाई लगायत जिम्मेवारी मेरो हो भन्ने भावना प्रबल बनेँ । र क्रमसँगै विभिन्न कर्महरु गर्दै अघि बढियो ।
यो कुरा दशक भन्दा बढी समय अघिको हो । अब यी दौरानमा के भए त ? त्यसपछि त्यति ठूलो भावनात्मक चोट कहिल्यै भएन जति त्यो बेला भएको थियो । अभावका समस्या, आर्थिक दयनीयताले पढाइ रोक्नुपरेको पीडा आदि इत्यादि । मेरो बुबाको घटनापछि जीवनमा अरु कुराहरु नगण्य लाग्न थाले । एकैचोटि सानो उमेरमै ठूलो बज्रपात परेकाले होला अन्य कुराहरु सामान्य लागेका । तर फेरि पनि जीवन हो । मन हो । भावना त हुन्छ नै ।
त्यसै क्रममा पछिल्लो समय अकल्पनीय मान्छेबाट अनपेक्षित निर्णयहरुले पनि मलाई करिब त्यो बेलाको जस्तै भावनात्मक चोट दियो । यो त भर्खरकै कुरा हो । यस्तो अनुभूति दिलायो कि अब मेरो सबै कुरा गुम्यो । सपनाहरु टुक्रिए । अपेक्षाहरु छताछुल्ल भए । मन अशान्त भयो । मनमा गाँठो पर्यो । फुकाउने ठाउँ भएन । उतिखेर मेरो आमा हुनुहुन्थ्यो मलाई पूर्ण रुपमा साथ दिने, अहिले त आमालाई भन्न पनि सकिनँ । अहँ कसैलाई भनिएन । कोही साथ दिने भएन । मनमै रह्यो । त्यसैले मनलाई खायो । यो पनि अति नै टुटेको क्षण बनेको छ । कुनै भरोसा तोडिनु सानोतिनो कुरा होइन ।
उबेला भोगेका अवस्थालाई चिर्दै आउँदा हजारौँ संघर्षका पाइलाहरुलाई छिचोलियो । खासमा कोहीबाट केही अपेक्षा पनि गरिएन । आफ्नै स्वाभीमानमा रहियो । यद्यपि मान्छे हो । कतिपय अवस्थामा समय सिमित बनिदिन्छ । धेरै काम एकैपटक गर्नुपर्ने हुन्छ । बाध्यताले गाँजिरहेको हुन्छ । यो बेलामा कोहीबाट केही अपेक्षा गर्नु स्वभाविक हो । स्वर्णिम सपनाहरुले जीवन सिञ्चित गर्नु त झनै रोमाञ्चक कुरा भयो । म पनि यस्तै यस्तै अवस्थाहरुलाई मनमा साँचेर नयाँ भविष्यको कल्पनामा डुबिरहेको थिएँ । तर त्यो सबै क्षणभरमै टुटेर गए । फुटेर गए ।
जहाँबाट यस्तो भयो वास्तवमा मलाई केही गुनासो पनि छैन । बस अपेक्षाको पुलमा यथार्थको छलाङ मार्दा आफूलाई पीडा भएको हो कि भन्ने लाग्यो ।
यी सबै प्रसंग जोड्नुको तात्पर्य हामी सबै सबै कुनै न कुनै भावनात्मक अड्चनहरुबाट रुमलिएका हुन्छौँ । अनि आफैँले यस्तो अवस्थाबाट सामान्य हुन हरेक प्रयास गरिन्छ । त्यो प्रयासमा सफल भइयो भने राम्रो हो । सफल हुन सकिन्छ पनि । तर कहिलेकाहीँ आफ्नै मात्रै कोसिस सफल नहुन सक्छ । र भावनामा आएको पीडा जटिल बन्न सक्छ । त्यस्तो अवस्थामा भने हामीले मनोविज्ञसँग परामर्श गरिहाल्नुपर्दछ ।
म आफैँ मनोविज्ञानको विद्यार्थी भएर पनि माथिका उदाहरणहरु प्रस्तुत गरेको हुँ । यो बुझाउन कि हरेक मान्छेमा मन र भावनासँग सम्बन्धित अप्ठ्यारा अवस्थाहरु आउन सक्छन् ।
अब त्यस्तो बेलामा के गर्ने त ? त्यसलाई मान्छेले रोएर, लेखेर, गाएर, नाचेर, अभिनय गरेर, पढेर आदि तरिकाले सामान्य बनाउने प्रयास गर्दछन् । यो राम्रो कुरा हो । मनले आफैँ क्षतिपूर्ति खोज्छ । त्यसमा तपाईँले गम्भीर रुपमा अगाडी लैजानु भएको सम्बन्ध कोही एक जनाको कारणले छुट्यो भने तपाईँको मनले त्यस्तै, भावानात्मक साथ दिने मान्छेको खोजी गर्दछ । त्यो स्वभाविक हो । तर त्यसमा पनि एकैचोटि त्यता तर्फ जाने भन्दा पहिलो आफू सम्पूर्ण रुपले सामान्य बनेपछि मात्रै सोच्नु राम्रो हुन्छ । अन्यथा फेरि आफ्नो अपेक्षाको चपेटामा परेर पीडा घट्न होइन बढ्न सक्छ ।
तपाईँका लागि सधैँभरी नयाँ वर्ष हुनलाई आफ्ना भावनाहरु स्थिर, शान्त र खुशी हुन आवश्यक छ । सदैव सुनौलो जोश जाँगरका साथ अघि बढन् वा जीवनलाई पूर्ण रुपमा नयाँ बनाउन पनि आफ्ना भावनाहरुलाई चुस्त दुरुस्त राख्न जरुरी हुन्छ । नयाँ वर्षको यो अवसरमा तपाईँले आफूलाई भावनात्मक रुपमा बलियो बनाउन केही विशेष उपायहरु गर्न सक्नुुहुन्छ ।
१. विश्वासपात्रलाई भन्नुस्ः
सामान्यतया मान्छे दुःख हुने कुराहरु गर्न खोज्दैनन् । यो चाँही एकदमै राम्रो पक्ष हो । तर आफ्नो मनमा भएका भावनाहरुका बारेमा भने स्पष्ट भएर कोही न कोहीलाई पोख्नु निकै फाइदाजनक हो । यसले ठूलो समस्या हुन दिदैन । अब कसलाई भन्ने त ? आफू जस्तै विश्वास र भरोसा गर्न सकिने आमा, श्रीमानश्रीमती, दाजुभाइ दिदी बहिनी वा कोही मिल्ने साथीलाई खुलेर आफूलाई मनमा लागेको भावनाहरु पोख्ने गर्नुले एकदमै राहत महसुुस हुने गर्दछ ।
२. स्वीकार गर्नुः
यो निकै महत्वपूर्ण कुरा हो । जीवनका हरेक अवस्थाहरुमा हामीले स्वीकार गर्ने कला सिक्यौँ भने हामीलाई निकै सहज हुन्छ । जस्तै, कोही प्रीयजनको निधनले अवश्य पनि विक्षिप्त बनाउँछ । तर जति नै जे जे गरे पनि पुनः त्यो फर्केर आउँदैन भने त्यसको एउटै विकल्प यो हो कि मृत्यु अवश्यम्भावी छ भनेर स्वीकार गर्ने । म पनि त पछि मर्ने नै हो नि भन्ने भावनाले तपाईँलाई थोरै भएपनि राहत दिन्छ ।
३. सहयोग गर्नुस्ः
भावनात्मक पीडाहरु निकै मजबुत हुन्छन् । त्यस्तो पीडा भएको बेलामा अरुको पीडा हेर्नु, बुझ्नुले पनि निकै राहत त दिन्छ नै साथसाथै यदि सकिन्छ भने आवश्यक परेको केही सहयोग गर्नुभयो भने पनि तपाईँको आफ्नो पीडा पनि केही हदसम्म कम हुन सक्छ ।
४. परिवर्तन गर्नुस्ः
भावनात्मक पीडाको पनि कारण हुुन्छ । अनि कारणहरु कहिलेकाहीँ बदल्न सकिन्छन् । मतलब जस्तै, आफ्नो पार्टनरबाट सदैव पीडा पाइएको छ र बाँकी जीवन पनि लगभग पक्का खराब नै हुुने निश्चिय जस्तो आफूलाई लाग्छ । वा त्यही सम्बन्धका कारण आफू भावनात्मक रुपमा कमजोर भइएको छ भने परिवर्तन गर्न तर्फ सोच्न सकिएला । यही कारणले मलाई चोट दिएको हो भन्ने निश्चित हुँदा त्यस्ता कारणलाई परिवर्तन गर्न तर्फ सोच्दा पनि बाँकी समय चाँही सुखमय हुनसक्छ ।
५. चुनौती सामना गर्नुस्ः
जीवनमा जस्तासुकै समस्या वा चुनौतीको सामनाका लागि तयारी रहनुस् । जीवनमा कहाँ कहिले कतिखेर के कस्ता अवस्थाहरु आउँछन्, थाहा हुन्न । त्यसैले, जस्तोसुकै अवस्था आइपरे पनि म लड्छु, अघि बढ्छु भन्ने भावना मनमा राख्नुस् ।
६. विश्वास गर्नुस्ः
सर्वप्रथम हामीले आफैँप्रति एकदमै भरोसा र विश्वास गर्नुपनर्छ । अर्को कुरा हाम्रा वरपरका सबै मानिसलाई विश्वास गर्न सकिन्नँ होला । तर यो मान्नुस् कि संसारमा निकै मानिसहरु सुुन्दर छन् । केही केही मानिस त तपाईँ हाम्रा लागि औषधि सरह हुन सक्छन् । तसर्थ, जीवन यात्रामा हामीले एक अर्कालाई विश्वास गरेर नै अघि बढ्न सकिन्छ । यसले मित्रता, सफलता र खुशी समेत प्रदान गर्दछ ।













प्रतिक्रिया