
मोरङ, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन् ।
बिहीबार एमाले विराटनगर महानगरद्वारा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले विभिन्न भाषाभाषी र भूगोलमा बस्नेहरुलाई समेटेर सार्वभौमसत्ता सम्पन्न मुलुक बनाउन एमाले लागेको बताए ।
उनले देशलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको पनि कार्यलाई कहिल्यै पनि पूरा हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विभिन्न विमानस्थलको विस्तार गरी राति सेवा सञ्चालन गराएको उनले बताए ।
उनले पाँच दलीय गठबन्धनले मुलुकको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारले भुक्तानी नपाएकोमा गुनासो गरे । अध्यक्ष ओलीले विसं २०५१ मा मासिक १०० देखि सुरु गरेको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले दैनिक रु १३३ कायम भएको र कर्मचारीको सहज जीवनयापनका लागि तलब वृद्धिसमेत गरेको स्मरण गराए । कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरे ।















प्रतिक्रिया