
काठमाडौं, २८ चैत। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन गर्नुको कारण दिँदै पार्टीको कार्यक्रममा भनेका थिए,‘एमाले र ओलीजी कमजोर छैनन्। यसैकारण पनि गठबन्धन गर्नुपरेको हो। नत्र प्रचण्ड एमालेसँग मिल्छन्।’
सत्ता साझेदार रहेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई साथमा लिएर नै चुनावमा जानुपर्ने कांग्रेसमा सभापति देउवाले ‘माओवादी केन्द्रको कुनै हैसियत नै छैन, कम्युनिस्ट मिल्न सक्छन्’ भनेर पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पनि आश्वस्त पारेका थिए।
राष्ट्रिय राजनीतिमा नेकपा एमाले एउटा बलियो कित्ता भएको कांग्रेसको ठहर थियो। यति मात्र होइन, एमाले सरकार ढाल्नका लागि बलिया भनिएका शक्तिको गठबन्धनले मात्र नपुग्ने भएपछि अध्यादेश ल्याएर कम्फरटेबल हिसाबमा माधवकुमार नेपालहरूलाई अलग हुनका लागि सहयोग गरिएको थियो।
‘एमालेलाई हामीले कमजोर आँक्नु हुन्न। निक्कै बलियो शक्ति हो। त्यहाँमाथि उसले गरेको चुनावी प्रचारको कार्यक्रमको पनि विश्लेषण गरेका छौं’, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्,‘उसका निर्वाचन केन्द्रित परिचालन गठबन्धनको भन्दा निक्कै तेजिलो छ।’
सरकारका पछिल्ला निर्णयले राष्ट्रवादी र समाजवादी कित्ताको नेतृत्व एमालेले गरेको छ भने नातावादी र अवसरवादीको नेतृत्व कांग्रेसले गरेको एमाले महासचिव शंकर पोखरेलको ठम्याई छ। उनी भन्छन्,‘आफन्तलाई सांसद, राजदूत नबनाई नहुने भएपछि त्यो अवसरवादी कित्ता भयो। जसको नेतृत्व कांग्रेसले गरेको छ। त्यसैले हामीले सबै मिलेर आओ, हामी एक्लै मैदानमा लड्छौं भनेका हौं।’
कतिपयले एमाले विभाजन भयो कमजोर भयो भन्ने तर्कसँग पोखरेल सहमत छैनन्। उनी भन्छन्,‘एमालेसँग पूर्वमाओवादी पनि छन्। हामी नेपाल कम्युनिस्ट पार्टीको निरन्तरता हौं। तर कुनै माओवादीमा एमाले छ? अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीमा माओवादी छ? अनि, दुवै दल किन एकीकरण नगरेको त? त्यसैले हामी बलियो छौं, अझ दिनानुदिन आउनेक्रम जारी छन्।’















प्रतिक्रिया