
काठमाडौँ, २६ चैत । शनिबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।
पूर्वदेखि काठमाडौँसहितको केही स्थानमा विहान केही समय वर्षा भएको र दिउँसो पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा मौसम बदली रहने छ ।
यतिबेला काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश नं. १ को पहाडी भू–भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरैस्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आजराति भने प्रदेश नं. १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने हुँदा वर्षा र चट्याङ्गको जोखिमबाट बच्न तथा पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।















प्रतिक्रिया