
काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने बताएका छन् ।
सरकारले राष्ट्र बैंकका गभर्नर महासप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा धारणा राख्दै रिजालले सरकारको यो निर्लज्जता र अर्थमन्त्री शर्माको गुरिल्लागिरी अर्थतन्त्रबाट देश द्रुततर गतिमा श्रीलंकाको बाटोमा लैजाने बताएका छन् ।
रिजालले अर्थमन्त्री शर्मालाई अर्थतन्त्रका बारेमा कुनै सरोकार नभएको र अर्थमा मात्रै विशेष रुचि भएका बताउँदै यस्तो हर्कतले देश टाट पल्टिने दिशामा दौडिने बताए ।
यस्तो छ रिजालको धारणाः
तस्करीको लाइन खुलेआम खुलाएर देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने अर्थमन्त्रीलाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले ’टाउको दुखेको औषधी नाइटोमा’ लगाएको छ । यसले मुलुकलाई द्रूततर गतिमा श्रीलंकाको बाटोमा लैजानुबाहेक केही गर्दैन । अर्थतन्त्रका बारेमा कुनै सरोकार नभएका र ’अर्थ’मा मात्रै विशेष रुचि भएका जनार्दन शर्माका गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिने दिशामा दौडिनबाट कसैले रोक्न सक्दैन ।















प्रतिक्रिया