२९ आश्विन २०८३, बिहिबार

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको असर : रित्तियो आयल निगमको सरकारी कोष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ ।

गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताए ।

‘निगमले पछिल्ला दिनमा घाटा बेहोर्नुपरिरहेको छ, घाटा बढ्दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्च गर्दै आएको थियो । अब त सो कोष पनि रित्तियो,’ सह प्रवक्ता कार्कीले भने ।

उनले चालू आर्थिक वर्ष सुरु भएपछि नै निगमलाई घाटा लाग्न थालेपछि मूल्य स्थिरीकरण कोषमा रकम जम्मा हुन नसकेको र उल्टै कोषबाट रकम झिक्दै जानुपर्ने बाध्यता आइपरेको बताए ।

पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको भाउ लगातार बढेर भारतीय आयल कर्पोरेसनलाई तिर्न बाँकी रकमसमेत पठाउन नसकिएकाले बाध्यतावश निगमले यो कोषको रकम चलाउनुपरेको उनले बताए । कार्कीले भारतीय आयल कर्पोरेसनले मागेको बेला यहाँबाट रकम नपठाए उसले इन्धन दिनै बन्द गर्ने भएकाले निगमले यो कोषको रकम चलाउनुपरेको प्रस्ट पारे, आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले समाचार लेखेका छन् ।