काठमाडौँ, १० वैशाख । चौध वर्षमुनि महिला खेलाडी सम्मिलित एएफसी यु-१४ गल्र्स रिजनल च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह ‘ए’ का विजेता नेपालले समूह ‘बी’ का उपविजेता भारतसँग दशरथ रङ्गशालामा भोलि शुक्रबार दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै नौ अङ्क जोडेको छ ।
नेपालले पहिलो खेलमा इरानलाई ३-२ गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा माल्दिभ्सलाई १०-० र तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कामाथि ८-० को फराकिलो गोलअन्तरले विजय हासिल गरेको थियो । नेपालले जारी प्रतियोगितामा २१ गोल गरेको छ ।
सोही मैदानमा भोलि नै हुने दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’ का विजेता बङ्गलादेशले समूह ‘ए’ को उपविजेता इरानसँग दिउँसो ४ बजे भिड्नेछ ।
प्रतियोगितामा बङ्गलादेश भुटानलई १६-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने इरानले माल्दिभ्सलाई १८-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । सात राष्ट्रले भाग लिएको सो प्रतियोगितामा माल्दिभ्स, श्रीलङ्का र भुटान प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
















प्रतिक्रिया