७ कार्तिक २०८३, शनिबार

चितवन कांग्रेसको असन्तुष्टिबीच भरतपुरमा रेणु दाहाललाई मेयरको उम्मेदवार बनाए के हुन्छ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत। स्थानीय चुनावमा सत्ता गठबन्धनको तालमेलका विषयमा छलफलका लागि विहीबार बैठक डाकिएको छ। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा डाकिएको बैठकमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको विषयमा गठबन्धनबाट टुंगो लगाइने अनुमान पनि गरिएको छ।

बाँडफाँटको विषयको चर्चा चलिरहँदा भरतपुर महानगरपालिकामा कांग्रेसले दाबी गर्ने भएको छ। तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने रेणु दाहाललाई नै निरन्तरता दिने प्रस्ताव गर्ने तयारीमा छन्। तर चितवन कांग्रेसले यसपटक भरतपुरमा अर्को उम्मेदवारलाई मत नहाल्ने घोषणा गरिसकेको छ।

चितवन कांग्रेसको असन्तुष्टिबीच भरतपुरमा रेणु दाहाललाई मेयरको उम्मेदवार बनाए के हुन्छ?

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले भनेका थिए,‘अन्य ठाउँमा के हुन्छ थाहा छैन, भरतपुर महानगरपालिकाको मेयरको निर्णय चितवनका कांग्रेस नेता र कार्यकर्ताको चाहनाअनुसार हुन्छ।’

यसअघि चितवनका कांग्रेस नेताले माओवादीलाई मत दिन नसकिने बताउँदै आएका थिए। कांग्रेसका पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठले भनेका थिए,‘हामी अर्को चुनाव चिन्हमा मत हाल्न सक्तैनौं, माओवादीलाई सघाउन सकिँदैन।’

कांग्रेसले आफ्नै उम्मेदवार खडा गरी चुनावी प्रचार थाल्ने तयारी गरिसकेको छ। मेयरको उम्मेदवारका लागि केन्द्रको नीतिलाई पर्खेर बसेको स्थानीय नेता कार्यकर्ता बताउँछन्।

उता गठबन्धन नभए पनि माओवादी केन्द्रले महानगरपालिकामा मेयरको उम्मेदवारमा रेणु दाहाललाई उठाउने तयारी गरेको छ। प्रचण्डको चाहनाअनुसार नै उक्त निर्णय गर्न लागिएको हो। तर, रेणुले भने आफूलाई दोहोरिन मन नभएको बताए पनि पार्टी निर्णय मान्ने प्रतिक्रिया दिएको सतहमा आएको थियो।