
काठमाडौं, १६ चैत। सशस्त्र प्रहरीले एक महिनाको अवधिमा दुई जना महानिरिक्षक (आईजी) पाउने भएको छ। २८ चैतमा अनिवार्य अवकाशमा हालका आईजी शैलेन्द्र खनालले विदा लिएपछि अतिरिक्त महानिरिक्षक (एआईजी) मध्यका पुष्पराम केसी र रामशरण पौडेल मध्य एक जना आईजी नियुक्त हुनेछन्।
सरकारले उक्त निर्णय नगरेको खण्डमा भने कार्यबाहक आईजीबाट पनि काम चलाउन सक्नेछ। कार्यबाहक आईजी कायम गरिएको खण्डमा प्रहरी नायव महानिरिक्षक (डीआईजी)बाट जम्प गराई त्यसको २१ दिनपछि अर्काे आईजी नियुक्त गर्नुपर्ने हुन्छ।
यद्यपि स्थानीय चुनाव मुखैमा रहेका कारण सरकारले आईजी नियुक्त गर्ने बताइएको छ। सामान्यतया प्रहरीमा घरजानु एक महिनाअघि विदा बस्ने प्रचलन भने टुटीसकेको छ। त्यसो हुँदा सरकारले चुनावअघि नै आईजी नियुक्त गर्न सक्ने थियो।
हालका दुई एआईजी मध्य एक जनाको आईजीमा नियुक्ति हुँदा खाली रहेको पदमा भावी आईजीका उम्मेदवारको बढुवा सरकारले गर्नेछ। त्यसका लागि हानाथाप रहेको स्रोतले जनाएको छ।
उनीहरूले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । केसी र पौडेलमध्ये जो आईजी बने पनि २१ दिन मात्रै सशस्त्र प्रहरीको कमान्ड सम्हाल्ने अवसर पाउनेछन्।
त्यसपछिको आईजीका लागि डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ। उनीहरू तीनैजना आईजीका प्रतिस्पर्धी हुन्।
एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्यै एकजना २१ दिने आईजीपी हुँदा एआईजीको एक दरबन्दी खाली हुनेछ। खाली रहेको दरबन्दीमा डीआईजीहरू अर्याल, पौडेल र गौतममध्ये जसले बढुवा पाउँछन् उ नै आईजीको एकल उम्मेदवार हुनेछ।















प्रतिक्रिया