
-विनोद ढकाल/दैनिक नेपाल
काठमाडौं, १५ चैत। ‘धैर्यताले सफलता दिन्छ। हारपछि जित हुन्छ भन्ने मलाई आत्मविश्वास छ’, निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका एमाले उप–महासचिव पृथ्वी सुब्बा गुरुङले प्रेस चौतारी नेपालको केन्द्रीय समितिको बैठकमा भनेका थिए,‘कम्युनिस्ट पार्टीमा साधना भयो भने जीत हुन्छ त्यसको उदाहरण त मै हुँ।’
गुरुङले कम्युनिस्ट यात्रामा निक्कै सकस खेपेका थिए। साधारण परिवारमा जन्मिएका उनी राजनीति गरेको ३० बर्षमा पहिलो पटक सांसद निर्वाचित भएका थिए। त्यसबेलासम्म उनले निक्कै पटकका प्रयत्नमा हार पनि व्यहोरेको सुनाए।
१ फागुन २०१४ मा लमजुङको साबिक गिलुङ गाविस वडा नम्बर ८ हाल क्होलासोथर गाउँपालिका–९ टक्सारमा जन्मिएका गुरुङ राजनीतिक जीवनपूर्व शिक्षण पेसामा सक्रिय थिए।
उनका संघर्षका किस्सा अलग छन्। अनि, प्रशिक्षणको तिक्ष्णता फरक। एमाले अबको चुनावमा पहिलो हुने र बनाउनका लागि उनका अलग तर्क पनि छन्। ‘भेडाले नेतृत्व गरेको बाघको बथानलाई बाघले नेतृत्व गरेको भेडाको बथानले जित्छ’, एउटा कथा सुनाउँदै उनी भन्छन्,‘अहिले त एमालेको नेतृत्वमा केपी शर्मा ओली हुनुहुन्छ। सिंहको नेतृत्वमा बाघको बथान छ। एमालेलाई सफल बनाउनै छ।’
सानो अनुभवले राजनीतिमा आत्मबल बढ्ने होइन। इतिहासमा गरेका संघर्षको खारले हिम्मत दिन्छ भन्ने उदाहरण हुन् गुरुङ।

विज्ञानमा स्नातक गरेका गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए। शिक्षण पेशामा आवद्ध उनी पञ्चायतकालमै प्रहरी हिरासतमा पटक–पटक परेका थिए।
२०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए। उनको राजनीतिक यात्रा भने २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार–अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निर्वाचित भएसँगै सुरु भएको थियो।
राजनीतिक यात्रासँगै उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए। उनका संघर्ष र लोकप्रियता विस्तारै विस्तार भएको थियो। तैपनि बहुदलपछिका दुई संसदीय निर्वाचनमा उनले लमजुङबाट जित निकाल्न सकेनन्। उक्त अनुभवलाई सुनाउँदै भन्छन्,‘त्यसैले धैर्यता हुनुपर्छ, अहम् मौका आउँछ भन्ने विश्वास कायम राख्नुपर्छ। साधना छाड्न हुन्न।’
तर राजनीतिक जीवन भने उनको गज्जबको छ।
२०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार अनेरास्ववियूको तर्फबाट स्ववियू सचिव निर्वाचित भएपछि उनको सक्रिय राजनीति सुरु भयो। २०३१ सालमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्र (माले) बाट उनको राजनीतिक रफ्तार अझ बढ्यो।
२०३५ नेकपा (माले) लमजुङको सदस्यको रुपमा संगठित भएका उनी २०३७ साल फागुन ७ गते नेकपा (माले) को पार्टी सदस्य भए। २०४० बैशाखमा नेकपा (माले) जिल्ला संगठन कमिटीको सदस्य भएका गुरुङ ९ र १० फागुन २०४८ मा भएको प्रथम जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए।
१० फागुन ०५१ को दोस्रो जिल्ला अधिवेशनमा पनि उनी निर्विरोध सचिवमा दोहोरिए। नेपालगञ्जमा ०५४ मा भएको नेकपा एमालेको छैठौं महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित उनी २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिवका रुपमा काम गर्न सफल भए। २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका गुरुङले २०६१ देखि २०७० सम्म केन्द्रीय जातिय मामिला विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
२०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित उनी २०६५ मा पार्टी पोलिटब्युरो सदस्य भए। २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रही काम गरेका उनी नवौं महाधिवेशनबाट सचिव र १० औं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भए।
मुक्तिका आन्दोलनमा खारिएका अनुभव छन्, गुरुङसँग। त्यसैले त प्रचार विभाग प्रमुख समेत रहेका गुरूङले पत्रकारहरूको संस्थाले पनि प्रविधिमैत्री, माक्र्सवादको चिन्तन, जनताको बहुदलीय जनवादको विचारलाई बुझ्नुपर्ने सुझाव दिन्छन्।
२०३९ सालमा कृषि मजदुरहरुको ज्याला वृद्धिको लागि घाम्राङमा किसान आन्दोलनको नेतृत्व गरी गुरुङले सफलता हात पारेका उनले विभिन्न मोर्चामा सफलता हात पारेका थिए।
पञ्चायती व्यवस्थाको भण्डाफोर अभियानको लागि पञ्चायती मञ्चको उपयोग नीति अनुसार नेकपा(माले) को तर्फबाट जनपक्षीय राष्ट्रिय परिषद उम्मेद्वार बनेका थिए, उनी।
देशको मात्र होइन गुरुङसँग विदेशमा कसरी काम गर्छन् भन्ने सिकाईलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ भन्ने आत्मबल छ। त्यसैले त जुन क्षेत्रको जिम्मेवारी पाउँछन् त्यसलाई अब्बल बनाउनुपर्छ भन्ने चिन्तन राख्छन्। भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ, मकाउ, चीन, उत्तरकोरिया, जापान, अमेरिका, स्पेन, स्वीडेन, डेनमार्क, नेदरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य, क्यानाडा, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, पेरु, इथिओपिया, बहराइन, कतार, संयुक्त अरव इमिरेट्सलगायतका देशका भ्रमण गरिसकेका उनी ति मुलुकका हर प्रकारका विकाससँग ईष्र्या गर्छन्। त्यस्तै विकासको तिर्खा नेपालीमा हुनुपर्ने उनको जिकिर छ।
२०६२–६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ बाट १९ हजार ५ सय ८३ मतसहित विजयी भएका थिए। गिरीजाप्रसाद कोइरालाको चुनावी सरकारमा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए।
उनी ०७० मा भएको निर्वाचनमा फेरि पराजित भए। ‘मैले हारेर हरेस खाइँन, ०७४ मा जितें र गण्डकीको संस्थापक मुख्यमन्त्री भएँ’, उनी सुनाउँछन्।
लेलिनवादी संगठनको सिद्धान्तलाई अंगीकार गरे पनि त्यसलाई मौकामा व्याख्या गर्दै जाँदा कम्युनिस्ट पार्टीका नयाँ सैद्धान्तिक परिवेश बन्ने अनुभव सँगालेका गुरुङ भन्छन्,‘त्यसैले जनताको बहुदलीय जनवादको सृष्टि भयो, एमालेले त्यसलाई ब्यापक बनायो ।’ धेरै सुन्ने र व्याख्या टिप्पणी गर्ने कौशलतासहित धैर्यता कायम गर्न सक्ने गुरुङ त्यसैले पनि आधुनिक नेपालमा कम्युनिस्ट आन्दोलनका ‘बाजिगर’ मानिन्छन् ।















प्रतिक्रिया