
काठमाडौं, १४ चैत। एउटा सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेता शेखर कोइरालालाई व्यंग्य गरे,‘एमाले र माओवादी मिलेर तपाईलाई चुनाव हराएको होइन?’
उनले सो क्रममा सत्ता गठबन्धन गरी चुनावमा जानुपर्ने अन्यथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिल्ने दाबी पनि थियो।
गठबन्धन गरेरै चुनावमा जानुपर्ने देउवाको जोड छ। केन्द्रीय समितिले सोमबार बहुमतले देउवाको मतलाई पारित गर्ने सम्भावना छ। त्यसो हुँदा स्थानीय चुनावमा कांग्रेसको पोजिशन के होला? भनी अनेक टिप्पणी र प्रक्षेपण गरिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि विभिन्न दलसँग तालमेल गरी चुनावी मैदानलाई रोज्नेछ। स्थानीय तहमा एमाले बलियो शक्ति भएकाले गठबन्धनको प्रमुख घटक कांग्रेसलाई धक्का त हुन्छ नै पालिका बाँडफाँटमा पनि घाटा हुने देखिन्छ।
मधेसका ८ जिल्लाका पालिकामा हिसाब किताब हेरेर जनता समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा एसलाई धेरै उम्मेदवार दिन कांग्रेस राजी हुनुपर्छ। यस्तै, चितवन महानगरपालिकामा माओवादी केन्द्रको दाबी रहन्छ। यति मात्र नभएर एमालेले जितेका महानगर र उपमहानगरमा नेकपा एसको दाबी पनि रहेको छ। यस्तो अवस्थामा कांग्रेसले एउटा मात्र महानगरपालिका पाउनेछ।
‘कसैले पनि थोरै माग गर्ने छैनन्। नेकपा एसले त एमालेले जितेका प्रायः ठाउँमा आफूले पाउनुपर्ने माग गरेको छ’, स्रोतले भन्यो,‘महानगरपालिका र उपमहानगरपालिकामा माधवकुमार नेपालको यो दाबीलाई मान्दा कांग्रेसको पोजिशन बलियो हुँदैन।’
जनताले प्रत्यक्ष मत हालेर जिताउने भएकाले गठबन्धन गरे पनि एमालेलाई हराउन मुस्किल रहेको कांग्रेसभित्र मत रहेको छ। ‘गठबन्धन गरेर के भयो? भारतीय कांग्रेसको हविगत कस्तो छ? गठबन्धन गर्दा त्यो अवस्था आउन सक्छ’, कांग्रेस नेता कोइरालाले भनेका छन्,‘त्यसैले कांग्रेस एक भएर नै चुनावमा जानुपर्छ।’
कांग्रेस चितवन जिल्ला समितिले त भरतपुर महानगरपालिका छाड्न नसकिने बताइसकेको छ। केन्द्रमा हुने गठबन्धनलाई नमान्ने उसको घोषणाले देशभरी नै ढडेलो लाग्ने खतरा देख्छन् केन्द्रीय सदस्यहरू। केन्द्रीय सदस्य रामहरी खतिवडाले नै चितवनमा गठबन्धन नहुने बताइसकेका थिए। उनले भनेका थिए,‘अरु ठाउँ के हुन्छ थाहा छैन, चितवनमा गठबन्धन हुँदैन।’
कांग्रेसभित्र कोइराला पक्षका मतलाई दबाउँदै देउवा अगाडि बढ्दा स्थानीय चुनावमा नै अन्तरघात हुन सक्ने समेत आँकलन गरिएको छ। ‘बहुमत कांग्रेसले अर्को चुनाव चिन्हमा मत नदिने बताइसकेका छन्। त्यस्तो आवाजको प्रतिनिधित्व पार्टी नेताले गर्न नसकेको खण्डमा गठबन्धनका धेरै उम्मेदवारले मत पाउँदैनन् र एमालेले स्वतः जित्ने सम्भावना हुन्छ’, एक केन्द्रीय सदस्य भन्छन्,‘कांग्रेसको पोजिशन अझ खस्कने सम्भावना देखिन्छ।’















प्रतिक्रिया