
काठमाडौं, १४ चैत । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा क्रमशः प्रि–मनसुन शुरू भएको जनाएको छ ।
प्रिमनसुनको समय शुरू भइसकेकाले आज पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
त्यस्तै आज सोमबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ ।
प्रिमनसुनका अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा मेघगर्जन, चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।
अङ्ग्रेजी महिनाको मार्चदेखि शुरू हुने प्रिमनसुन मे महिनासम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझापख प्रभावित भइरहन्छ ।
पहाडी भेगमा प्रिमनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ ।
विभागका अनुसार राति प्रदेश न १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।















प्रतिक्रिया