१३ कार्तिक २०८३, शुक्रबार

इन्सको विश्व महिला सशक्तिकरण सम्मेलनः महिला स्वास्थ्यबारे छलफल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, १३ चैत । अन्तर्राष्ट्रिय नेपाली समाजअन्तर्गतको महिला समितिले विश्व महिला सशक्तिकरण सम्मेलनमा विभिन्न उपयोगी छलफलसहित समापन भएको छ ।

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भर्चुअल माध्यमबाट भएको विश्व महिला सशक्तिकरण सम्मेलनको दोस्रो दिन आइतबार पनि विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको छ ।

आजको कार्यक्रममा विशेष वक्ताको रुपमा रहेकी कीर्तिपुर अस्पतालकी स्वास्थ्य सेवा निर्देशक डा. निजिना ताम्राकारले महिला स्वास्थ्यबारे प्रस्तुति दिएकी थिइन् ।

डा. ताम्राकारले ४० वर्षपछि महिलाहरुमा हुने हार्मोनको परिवर्तन एवम् महिनावारी रोकिने मेनोपजका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले महिलाले परिवारका अन्य सदस्यहरुको हेरचाह गर्ने तर आफ्नो ख्याल गर्न नपाउने वा नभ्याउने कुरालाई ध्यानमा राख्नुपर्ने बताइन् ।

आफैँप्रति गर्व गर्नुपर्नेमा जोड दिएकी उनले विशेष गरी ४० वर्ष पुग्नु अघिदेखि नै आफ्नो खाना, जीवनशैली र शारीरिक व्यायामको विशेष ध्यान दिनुपर्नेमा जोड दिएकी छन् ।

महिलाहरुमा आमा बनिसकेपछि तौल बढ्ने समस्या आउने र त्यसले आफ्नो ६० वर्षपछिको जीवन पीडादायी हुनेतर्फ सचेत हुनुपर्नेमा डा. ताम्राकारले जोड दिइन् । मानिसको शरीरमा हुने खुशीका हार्मोनहरुका बारेमा समेत चर्चा गर्दै महिलाहरुले उमेर बढेसँगै ति हार्मोनहरुको सन्तुलनका लागि पनि बेलैमा सचेत भएर अघि बढ्नुपर्ने बताइन् ।

त्यसैगरी, महिलामा हुने एस्ट्रोजेन हार्मोनको कमीले आउने समस्याहरुको चर्चा गर्दै समाधानको उपायबारे डा. निजिनाले अवगत गराइन् । आफ्ना लागि समय दिएर आफ्ना सौखहरु पहिचान गर्दै स्वभाविक परिवर्तनको स्वीकार गर्दै बाँच्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी, महिला अभियन्ता एवम् इन्स महिला समितिकी उपाध्यक्ष नजबुल खानले महिलाहरु अघि बढ्नका लागि साथ सहयोग र हौसला आवश्यक हुने बताइन् ।

इन्स राष्ट्रिय समितिको तर्फबाट प्रतिनिधित्व गर्दै युएइका राष्ट्रिय अध्यक्ष मेघ प्रसाद धमलाले विश्वभरी र नेपालमा नेपालमा महिलाहरुको संख्यात्मक उपस्थितिको बारेमा चर्चा गरेका थिए ।

त्यस्तै, इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा. जानुका पौडेल नेपालले नेपालमा नेपालमा महिलाको अवस्थालाई चित्रित गर्ने कविता वाचन गर्दै महिलाको अवस्था उकास्न के गर्न सकिएला भन्नेमा चिन्ता व्यक्ति गरिन् ।

कार्यक्रममा वौद्धिक व्यक्तित्व डा. श्रीराम उपाध्यायले आफूले पोखरामा गरेको अध्ययनबारे प्रकाश पार्दै महिला र पुरुषबीचको नेपालमा भएको विभेद चर्चा गरेका थिए ।

त्यसैगरी, कार्यक्रमलाई थप रोचक बनाउन अस्ट्रियाबाट हजुरी शाह कडेल तथा बालिका नेहारिका खड्काले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले यस्ता महिला सशक्तिकरणका लागि यस्ता कार्यक्रमहरुले विशेष भूमिका खेल्ने बताए ।

त्यसैगरी, इन्स केन्द्रीय समितिकी वरिष्ठ उपाध्यक्ष, साहित्यकार एवम् वरिष्ठ अधिवक्ता उर्मिला निर्दोषीले कार्यक्रममा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त अतिथिहरुलाई आमन्त्रण गर्न विशेष भूमिका खेलेको तथा पहिलो दिनको अंग्रेजी कार्यक्रमको सत्र सञ्चालन गरिदिएकोमा अध्यक्ष घिमिरेले विशेष आभार प्रकट गरेका छन् ।

सम्मेलनको अध्यक्षता गरेकी इन्स महिला समितिकी अध्यक्ष डा. रेनुका सोलुले कार्यक्रममा आफ्नो प्रस्तुति दिने अतिथिहरु प्रति आभार व्यक्त गरिन् । विशेषगरी महिला स्वास्थ्यका लागि निम्ति भएको प्रस्तुतीले ठूलो भूमिका खेल्ने बताउँदै उनले डा. ताम्राकार प्रति धन्यवाद ज्ञापन गरिन् । त्यस्तै, कार्यक्रम सफल बनाउन भूमिका खेल्नेप्रति पनि उनले आभार प्रकट गरेकी छन् ।

सम्मेलनलाई इन्स महिला समितिकी महासचिव शुभद्रा भण्डारीले सञ्चालन गरेकी थिइन् । पहिलो दिनको रचना वाचन विशेष कार्यक्रम इन्सकी वरिष्ठ उपाध्यक्ष उर्मिला निर्दोषीले सञ्चालन गरेकी थिइन् भने आइतबारको सुप्रिया घिमिरेले सहयोग गरेकी थिइन् ।

कार्यक्रममा विश्वभरबाट इन्सका विभिन्न समितिका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई इन्सको आधिकारिक फेसबुक पेज तथा ग्रुपबाट समेत लाइभ प्रस्तुत गरिएको थियो ।

त्यसैगरी, कार्यक्रमको पहिलो दिन शनिबार प्रमुख अतिथिको रुपमा महिला सशक्तिकरण अभियन्ता ९२ वर्षीय भद्रा कुमारी घले रहेकी थिइन् ।

उनले आफ्ना सघर्षको गाथा सुनाउँदै सबैमा अघि बढ्नका लागि प्रेरणादायी वचन दिएकी थिइन् । आफू ९२ वर्ष पुगिसक्दा पनि केही न केही गरिरहने भन्दै सधैँ सिर्जनशील बन्नु सुझाव दिएकी थिइन् ।

घलेले आगामी वैशाख १९ गते एकै पटक १५१ जना महिलाद्वारा आफ्ना १५१ वटा पुस्तक संयुक्त रुपमा विमोचन गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै आफू दैनिक रुपमा भजन, कविता तथा निबन्ध लेखेर बिताउने बताइन् ।

पाँच पटक राष्ट्रिय पञ्चायतको सदस्य र पूर्वराज्यमन्त्री समेत रहेकी घले सबैका लागि प्रेरणाकी स्रोत हुन् । उनले विशेष गरी महिला सशक्तिकरण, साहित्य, चित्रकला र समाजसेवामा महत्वपूर्ण योगदान दिएकी छन् ।