
काठमाडौँ, १३ चैत । थारू कल्याणकारिणी सभाले यही चैत ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको १० औँ महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरेको भन्दै भत्र्सना गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभाले नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा महासंघले उठाउँदै आएको समानुपातिक प्रतिनिधित्वको मुद्दालाई बेवास्ता गरेका आरोप समेत लगाएको छ ।
महासंघको सदस्य संगठनको दोस्रो जनसंख्या भएको थारु कल्याणकारिणी सभासँग कुनै पनि छलफल नगरेर एकात्मक ढंगले जातीय सामाजिक संस्थालाई राजनीतिक स्वार्थ पूर्तिको लागि राजनीतिक मञ्चको रुपमा प्रयोग गरिएको सभाको आरोप छ ।
‘तराईका मुल भूमि पुत्र थारु जातिलाई उपेक्षा गर्दै बहिष्करण तथा अवमुल्यन समेत गरि सम्पन्न गराईएको १० औँ महाधिवेशनको कथित निर्वाचनको बहिष्कार गर्दै घोर भर्सना र विरोध गर्दछौँ’, थारु कल्याणकारिणी सभाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै थारु युवासभाका अध्यक्ष कनुलाल चौधरीले आदिवासी जनजाति महासंघको नीति, कार्यक्रम र योजना बनाउने सवालमा थारु समूदायलाई पन्छ्याउने काम गरेको भन्दै तत्काल गल्ती सच्याउन माग गरेका छन् ।
अध्यक्ष चौधरीले आदिवासी जनजाति महासंघको महाधिवेशनमा तराईको ठूलो भूभाग ओगट्ने थारु समूदायलाई बेवास्ता गरिएको आरोप लगाए ।
साथै, उनले आदिवासी जनजातिका माग र मुद्दालाई एकतावद्द ढंगले पुरा गर्न महाधिवेशनमा भएका त्रुटि सच्याउन महासंघलाई आग्रह समेत गरेका छन् ।
थारु भाषा साहित्य केन्द्रका उपाध्यक्ष बुधासेन चौधरीले आदिवासी जनजातीहरुको अधिकारको लागि आफूहरुले निरन्तर आन्दोलन गर्दै आएको भएपनि अहिले आएर आदिवासी जनजाति महासंघमा एकल जातिले राज्य गर्न खोजेको आरोप लगाए ।
संविधानमा समानता र समानुपातिक सिद्धान्तको कुरा गरेको भएपनि आदिवासी जनजाति महासंघको १० औँ महाधिवेशनले थारु समुदायलाई निर्णयको तहमा जानबाट बञ्चित गराईएकोमा दुःख व्यक्त गरे । उनले भने, ‘आदिवासी जनजाति महासंघको यस कदमलाई जति भत्र्सना गरेपनि कम हुन जान्छ ।’
यस्तै, चौधरीले आदिवासी जनजाति महासंघ भित्र थारु समुदायले समेत बराबरी ठाउँ पाउनु पर्ने बताए ।
थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य रुक्मिनी चौधरीले नेपाल आदिवासी जनजाति महासंघ जातिय, सामाजिक वा राजनीति कुन संस्था हो ? भन्दै प्रश्न उठाईन् ।
यस्तै, उनले नेपाल आदिवासी जनजाति महासंघको ५९ वटा जातजातिको सुचिभित्र दोस्रो स्थानमा पर्ने तराईको मूल आदिवासी धर्ती पुत्र थारुलाई गरिएको विभेदले अन्य समुदायको अवस्था कस्तो छ ? भन्ने स्पष्ट पारेको बताईन् ।
साथै, उनले नेपाल आदिवासी जनजाति महासंघले राजनीतिकरणको अन्त्य गरेर नआएसम्म थारु कल्याणकारी सभाले महासंघलाई बहिष्कार गर्ने चेतावनी समेत दिईन् ।














प्रतिक्रिया