३० आश्विन २०८३, शुक्रबार

एमाओवादी नेता ढुंगेलको अर्को मुद्दा व्युतिँयो, अनुसन्धान अघि बढाउन अदालतको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bal-Krishna-Dhungel

काठमाडौँ, ९ वैशाख । भाइको हत्यामा संलग्न एमाओवादी नेता बालकृष्ण ढुंगेल लगायतविरुद्ध जाहेरी दिएकै कारण माओवादी कार्यकर्ताबाट गोली हानी हत्या गरिएका रामेछापका गणेशकुमार श्रेष्ठको घटनामा अदालतले अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश गरेको छ ।

पुनरावेदन अदालत जनकपुरका मुख्य न्यायाधिश पुरुषोत्तम भण्डारी र मेघनाथ भट्टराईको संयुक्त इजलासले छ महिनाभित्र अनुसन्धान पूरा गरी दोषीउपर कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला सरकारी कार्यालय रामेछापको नाममा परमादेशको आदेश जारी गरेको हो । पीडितका तर्फबाट मंगलबार अधिवक्ता गोविन्द शर्मा बन्दी, पुष्पराज पौडेल, राजकुमार महासेठ र सिताशरण मण्डलले बहस, पैरवी गरेका थिए ।

अधिवक्ता पुष्पराज पौडेलका अनुसार, घटनाको १२ बर्षपछि यो मुद्दा ब्युतिँएको छ । घटनाका दोषीउपर दायर गरिएको किटानी जाहेरीमा १२ बर्षसम्म पनि प्रहरीले प्रक्रिया अगाडि नबढाएपछि यसअघि पीडित परिवारले फागुन ६ गते दायर गरेको रिट निवेदनमा पुनरावेदन अदालतले कारबाही अगाडि नबढाउनुको कारण १५ दिनभित्र पेश गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई आदेश दिएको थियो । प्रहरीले चित्तबुझ्दो कारण पेश गर्न नसकेपछि अदालतको यो आदेश आएको पीडितकी बहिनी सावित्री श्रेष्ठले जानकारी दिइन् ।

२०५५ साल असार १० गते ओखलढुंगामा भाइ उज्जनकुमार श्रेष्ठको हत्या भएपछि प्रहरीमा न्याय माग्न पुगेका गणेशकुमार श्रेष्ठलाई २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेको अबस्थामा रामेछापको साँघुटारमा छोरीकै आँखा अगाडि गोली हानी हत्या गरिएको थियो ।

गणेशकुमारकै उजुरीका कारण उनका भाइ उज्ज्नकुमारको हत्या प्रकरणमा एमाओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरिसकेको छ । पूर्वसभासद् ढुंगेलकै योजनामा युद्धकालमा गणेशकुमारको पनि हत्या गरिएको परिवारजनको ठहर छ ।
गणेशकुमारको हत्यामा संलग्न टिका सुनुवार, रक्तिम लामा र अन्य नचिनिएका छ जनाविरुद्ध गणेशकुमारका दाजुले २०५९ सालमा रामेछाप प्रहरीमा किटानी जाहेरी दिए पनि अहिलेसम्म प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थिएन् । १२ बर्षसम्म पनि कारबाही प्रक्रिया अगाडि नबढेपछि गणेशकुमारका छोरा विजयले एड्भोकेसी फोरमको कानुनी सहायतमा गत फागुन ६ गते पुनरावेदन अदालतमा रिट दायर गरेका थिए ।

‘मेरो काका उज्जनकुमारको हत्यामा संलग्न बालकृष्ण ढुंगेल लगायतलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेपनि उनलाई अहिलेसम्म जेल हालिएको छैन । न त मेरो बुवा गणेशकुमारको हत्यामा संलग्नहरुमाथि नै कारबाही अगाडि बढेको छ ।,’ विजय भन्छन्– ‘दिदीकै आँखा अगाडि बुवाको गोली हानी हत्या गरियो । जसका कारण दिदी रचनाले समेत आत्महत्या गर्नुभयो । हाम्रो परिवारले न्यायका लागि कहिलेसम्म लडिरहने ? अदालतको यो आदेशले भने केही आशा पलाएको छ।’ १९ बर्षीय विजयले बुवाको हत्या हुँदा आफू ७ बर्षको मात्रै रहेको बताए ।

‘उज्जनकुमारको हत्या प्रकरणमा बालकृष्ण ढुंगेलसँगै दोषी ठहरिएका पुष्कर गौतम जेल चलान भइसकेका छन् । तर, ढुंगेललाई राजनीतिक आवरणमा अहिलेसम्म उन्मुक्ति दिइएको छ । यसले विधिको शासनकै ठाडो उल्लंघन गरेको छ ।,’ पीडितका तर्फबाट बहस गरेका अधिवक्ता पुष्पराज पौडेलले भने, ‘गणेशकुमारका हत्यामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाउन पनि प्रहरीले आनकानी गरिरहेको थियो । एउटै परिवारले तीन जना सदस्य गुमाउँदा पनि राज्य लाचार बनिरहनु दुःखद हो । अब भने पीडितले राहत पाउलान कि !’