१३ कार्तिक २०८३, शुक्रबार

हेटौंडा मेयर कप रेपिड चेसको उपाधि फिडेमास्टर क्षितीज भण्डारीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौँडा, १२ चैत । फिडेमास्टर क्षितीज भण्डारीले हेटौँडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौँडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जीत तथा दुईमा बराबरी गरेका क्षितीजले ६ अंक बनाउँदै नगद ५० हजार रुपैयाँ समेत प्राप्त गरे ।

पाँचौँ तथा सातौँ चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमालसँग बराबरीको नतिजा आत्मसात गरेका क्षितीजले छैटौं चरणमा फिडेमास्टर रुपेश जयसवालमाथि जीत हात पारेका थिए ।

झापाका प्रकाश र धनकुटाका सुमन श्रेष्ठलाई टाईब्रेकरमा पछि पार्न सफल भएका क्यान्डिडेट मास्टर कृष्ण थापाले दोश्रो हुँदै २५ हजार नगद हात पारे । समान ५ दशमलव ५ अंक बनाएका प्रकाश तेश्रो र सुमन चौथो स्थानमा रहँदै क्रमशः १५ हजार र १० हजार नगद हात पार्न सफल रहे ।

फिडेमास्टर मनिष हमाल सात खेलबाट पाँच अंक बनाउँदै पाँचौँ स्थानमा रहेर १० हजार नगद प्राप्त गरे । त्यसैगरी समान पाँच अंक बनाएका फिडेमास्टर रुपेश जयसवाल, झापाका राजन सुवेदी र प्युठानका श्रीकृष्ण श्रेष्ठ क्रमशः छैटौं, सातौं र आठौं हुँदै सात–सात हजार नगद हासिल गरे ।

समान ४ दशमलब ५ अंक बनाएका झापाका सुश्रुत दाहाल नवौं र दोलखाका आशिष फुँयाल दशौं हुँदै सात–सात हजार नगद प्राप्त गरे । समान ४ दशमलब ५ अंक बनाउँदै धनुषाका शुसील चौधरी, तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, चितवनका सन्तोष गौतम, काठमाडौँका पुरुषोतम सिलवाल र बाराका निर्मल सापकोटा क्रमशः एघारौँदेखि पन्ध्रौं स्थानमा रही पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।

पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशी महिला खेलाडीमध्ये अब्बल हुँदै नगद ५ हजार प्राप्त गरिन् भने रामेछापका बिमल सुवेदी अनरेटेडतर्फ पहिलो हुँदै ५ हजार नगद हात पारे ।

त्यसैगरी काठमाडौँका विजय टमाटा (१०००–१२९९), रुपन्देहीका चमनगाहा मगर (१३००–१४९९), चितवनका जुनानाथ सापकोटा (१५००–१६९९) र मकवानपुरका बलराम संजेल (१७००–१८९९) रेटिङ क्याटागोरी तर्फ पहिलो हुँदै पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका संगठन विभाग प्रमुख दिपेन्द्र दाहाल लगायतले पुरस्कार वितरण गरे । हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा सम्पन्न दुई दिने प्रतियोगितामा विभिन्न जिल्लाका ३ महिला समेत ५२ जना खेलाडीको सहभागीता रहेको थियो ।