
काठमाडौँ, ११ चैत । यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण गर्ने जनाएको छ ।
शुक्रबार एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले यस्तो बताएका हुन् ।
उनले सन् २०२१ को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए ।
‘स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टको जसैगरी निजी क्षेत्रलाई दिन सकिन्छ भनेर विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ घिमिरले भने, ‘नभएर विभागमा प्रिन्टिङ मेसिन, पूर्वाधार र जनशक्ति थप गरेर व्यवस्थापन गर्नुपर्छ ।’
उनले अब लाइसेन्स नविकरण गर्नेहरुलाई एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरे । ‘शुल्क लिएर घरसम्मै डेलिभरी गरिदिन सकिन्छ भनेर हामीले मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ उनले भने ।
त्यसैगरी, जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन पनि खुल्नेछ । जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसकिने विभागले जनाएको छ ।
त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए ।
‘अहिले दैनिक ६ हजार जना मात्रै परीक्षामा सहभागी हुँदैछन्, अब क्षमता बढाएर १५ हजार बनाउँछौं,’ घिमिरेले भने, ‘त्यसपछि एउटा नागरिकता नम्बर भएका व्यक्तिले एकपटक मात्रै अनलाइन आवेदन भनसक्ने बनाएर बिचौलिया रोक्छौं ।’ जेठपछि अनलाइनबाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिइने भन्दै उनले अहिलेको भन्दा प्रभावकारी ढंगबाट सेवा प्रवाह दावी गरे ।














प्रतिक्रिया