३० आश्विन २०८३, शुक्रबार

यसरी भयो नेपालमा कम्युनिस्ट पार्टीको स्थापना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-thapa

वैशाख १० गते दिउँसो २ः०० बजे

२२ अप्रिल १९४९ को दिन, दिउँसो दुई बज्नै आँटेको थियो । कोलकाताको श्यामबजार इलाकास्थित नवीन सरकार लेनको २८ नम्बर घरको दोस्रो तल्लामा रहेको कोठामा चार नेपालीहरु उपस्थित थिए । आलोककुमार बनर्जीको त्यस घरमा नै नेपाल कम्युनिस्ट पार्टी स्थापनाको तयारी थियो । पुष्पलाल श्रेष्ठले अन्य तीनजनालाई त्यहाँ पुर्‍याउनुभएको थियो । खासमा भारतीय कम्युनिस्ट पार्टीका सदस्य पङ्कजकुमारको डेरा थियो त्यो । घरको कोठा सानो भएकाले हप्हपी गर्मीको अनुभूति भइरहेको थियो । त्यहाँ एक–एकवटा अण्डा र चिया खाइसकेपछि पुष्पलालले हस्तलिखित घोषणापत्र (कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद) दुईपटक पढेर सुनाउनुभयो । अरु तीनजनाले त्यसमा समर्थन जनाउँदै पारित गरेको घोषणा भयो । सँगै पहिलो पर्चा थियो । त्यसलाई पनि पढेर सुनाइयो र पारित गरियो । अनि नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको विधिवत् घोषणा भयो ।

पाँचजना नेपालीद्वारा ६५ वर्षअघि स्थापित नेपाल कम्युनिस्ट पार्टी यतिबेला मुलुकको राष्ट्रिय राजनीतिमा सबभन्दा बलियो ताकत बनेको छ । मूलतः कम्युनिस्ट पार्टीको नेतृत्वकारी भूमिकाकै कारण मुलुकमा शताब्दियौं लामो राजतन्त्र धरासायी भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र मुलुकमा दिगो शान्ति एवम् नयाँ संविधान निर्माणको काम अघि बढिरहेको छ ।

०६४ पुस चार र पाँचगते कोलकातास्थित त्यही घरमा पुग्दा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको यहीं हो भनेर पत्याउन नै मुस्किल पर्ने अवस्था थियो । किनभने, साँघुरो गल्लीमा अवस्थित बनर्जीको त्यो घर वि.सं. २००८ सालमै उनले बेचिसकेका र उत्तर प्रदेशका रघुनाथ साह गुप्ताले खरिद गरेका रहेछन् । गुप्ताको पनि त्यहाँ तीन पुस्ता बित्नलागेको रहेछ । हाल उनका नाति अमित गुप्ता त्यहाँ बसिरहेको थाहा भयो । खासमा उनी राजनीतिक रुपमा असचेत व्यक्ति रहेको र नेपाल र नेपाल कम्युनिस्ट पार्टीको बारेमा खासै थाहा नभएको अवस्थामा देखिन्थे । यद्यपि, ०६२ सालमा नरबहादुर कर्माचार्य, गिरिराजमणि पोखरेल र कमानसिंह लामा त्यस घरमा पुग्दा छिमेकी ९५ वर्षीय गोपाल मुखर्जीबाट अमितलाई आफ्नो घरमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको भन्ने थाहा भएको थियो । नेपाल कम्युनिस्ट पार्टीले जसरी नेपाली क्रान्तिलाई विजयको बिन्दुमा पुर्‍याउनसकेको छैन, बरु विभिन्न समूहमा विभाजित छ, यसकै प्रतिछायाँ पार्टी स्थापना भएको घरमा पनि देख्न सकिन्छ । किनभने, ६० वर्षको अवधिमा त्यस घरले रङरोगन समेत पाउन सकेको पाइँदैन । एक युगसम्म जस्ताको तस्तै रहनु त्यसको मौलिक विशेषता बनेको छ ।

पार्टी स्थापनाअघिको परिवेश

नेपाल कम्युनिस्ट पार्टी स्थापनाअघि पुष्पलाल नेपाली राष्ट्रिय काँग्रेसको कार्यालय सचिवसमेत हुनुहुन्थ्यो । ‘६५ दुग्धविनायक’स्थित केन्द्रीय कार्यालयमा साप्ताहिक विचारगोष्ठी सञ्चालन गर्ने क्रममा पहिलो दिन ‘नागरिक तथा राजनीतिक अधिकार’ भन्ने विषय राखिएको थियो । त्यस सम्बन्धमा केही बुँदा टिपोट गर्न डा. डिल्लीरमण रेग्मीसँग सोध्दा पुष्पलालले जवाफ पाउनुभयो, ‘यो बुझ्न ठूलो दिमाग हुनुपर्छ, बीए–एमए हुनुपर्छ ।’ त्यसपछि उहाँ हरिश्चन्द्र कलेजमा आईए पढ्न भर्नासमेत हुनुभयो तर राजनीतिक दौडधुपका कारण औपचारिक पढाइ छाड्न र स्वअध्ययनमा केन्द्रित हुन बाध्य हुनुभयो । पुष्पलालले पछि माक्र्स–एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ र लेनिनको ‘गाउँका गरिब किसान’ पढेर नागरिक तथा राजनीतिक अधिकारबारे बुझ्नुभयो ।

माक्र्स स्वयम्ले ‘नोट्स अन इन्डिया’मा ‘जङ्गबहादुर राणालाई अङ्ग्रेजी साम्राज्यवादको पाल्तु कुुकुर’ भन्ने उल्लेख गर्नुभएको छ भने एङ्गेल्सले ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ मा मगर जातिमा आदिम साम्यवादी समाज थियो भन्ने चर्चा गर्नुभएको छ ।

नेपालमा माक्र्सवादको प्रचार–प्रसार र कम्युनिस्ट विचारधाराको प्रवेश मूलतः वि.सं. १९९७ पछि भएको पाईन्छ । टङ्कप्रसाद आचार्यले पुष्पलालसँग नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास लेख्दा पहिलो कम्युनिस्ट दशरथ चन्द हो भनी लेख्नुपर्ने सुझाव दिनुभएको पाईन्छ । दशरथ चन्दले ‘राल्फ फक्स’को ‘कम्युनिस्ट’ नामक पुस्तक पढेर त्यसबाट प्रेरणा लिएको जानकारी समेत टङ्कप्रसादले गराउनु भएको थियो । वास्तवमा दशरथ चन्द र गङ्गालालमा कम्युनिस्ट विचारको प्रभाव रहेको थियो । उहाँहरू दुवैजना असाध्यै मिल्ने साथी हुनुहुन्थ्यो ।

बनारस अध्ययनको क्रममा सुरुमा बीपी कोइराला र गिरिजाप्रसाद कोइराला माक्र्सवादी विचारबाट प्रभावित हुनुहुन्थ्यो । तर, पछि नेपाली राष्ट्रिय काँग्रेस र नेपाली काँग्रेसको नेता हुनुभयो । वि.सं. १९९८ मा माक्र्सवादी विचारबाट प्रभावितहरुले उपत्यकामा ‘अखिल नेपाल वर्ग महासभा’को गठन गरेका थिए तर त्यसको खासै सक्रियता रहेन । वि.सं. १९९५ तिर बनारसमा पढ्न जानुभएका मनमोहन अधिकारी वि.सं. १९९९ तिर भारत छोडो आन्दोलनमा सक्रिय बन्नुभयो र बनारसमा जेल पर्नुभयो । उहाँ त्यहीं कम्युनिस्ट भएर निस्कनुभयो र भारतीय कम्युनिस्ट पार्टीको बनारस जिल्ला कमिटी अन्तर्गत रहेर काम पनि गर्नुभयो । साथै, दरभङ्गालगायतका क्षेत्रमा समेत उहाँ सक्रिय रहनुभयो । वि.सं. २००४ मा पाटनमा गठन भएको ‘विश्व भ्रातृसङ्घ’मा पनि कम्युनिस्ट विचारधाराको प्रभाव थियो । त्यसपछि गठन भएको ‘नेपाल प्रजातन्त्र सङ्घ’ले सर्वप्रथम ‘लालसलाम’ र ‘कमरेड’जस्ता शब्दावलीको प्रयोग थालेको थियो । त्यसको परेड गीत– ‘पहाड, पर्वत, खोला–नाला, जग्गा–जमिन सबको ।… अब क्रान्ति गरौं’ रहेको थियो । पुष्पलालले सर्वप्रथम सूर्यबहादुर भारद्वाजबाट गोर्कीको बहुचर्चित उपन्यास ‘आमा’ प्राप्त गरी पढ्नुभयो, त्यसपछि उहाँलाई क्रमिक रुपमा कम्युनिस्ट विचारले प्रभावित गरेको थियो ।

२००५ फागुनमा नेपाली राष्ट्रिय काँग्रेस (रेग्मी समूह)को राजनीतिक सम्मेलनमा नेपालको राष्ट्रिय झन्डालाई नै पार्टीको झन्डाका रुपमा झन्डोत्तोलन गर्ने निर्णय भएपछि पुष्पलाल असन्तुष्ट हुनुभयो । त्यतिखेर उहाँको विचारमा ‘नेपालको झन्डा राणाहरुको झण्डा थियो ।’ उहाँकै विरोधका कारण त्यसो गरिएन । तर, पुष्पलाल पार्टीबाट टाढा हुन थाल्नुभयो र तरुण नेपाल मोर्चा गठनको मनस्थितिमा पुग्नुभयो । त्यसैक्रममा अर्थात् २००५ को पुसमा कोलकातास्थित सुबोध मल्लिक स्क्वायरमा रहेको वालिङ्गटन पार्कमा भाकपाद्वारा आयोजित आमसभामा भाग लिन जानुभयो । त्यहीं दार्जिलिङका गणेशलाल सुब्बा र रत्नलाल ब्राह्मण (माइलाबाजे) सँग उहाँको भेट भयो ।

त्यसैबीचमा एक दिन उहाँको सुवर्णशमशेरसँग भेट भयो । सहिद गङ्गालालका भाइसमेत रहनुभएका युवा पुष्पलालसँग सुवर्णले उहाँलगायत चारजना नेपाली युवालाई गुरिल्ला तालिमका लागि बर्मा पठाउने गरी छानिएको जानकारी दिनुभयो । पुष्पलालले आफू कम्युनिस्ट रहेको, कम्युनिस्ट घोषणापत्रको नेपालीमा अनुवाद गरिसकेको तर छापिन नसकेको बताउँदै यदि कम्युनिस्ट घोषणापत्र छापिने शर्तमा भए आफू बर्मा जाने जवाफ दिनुभयो । तर, त्यसपछि सुवर्णशमशेरले पुष्पलाललाई गुरिल्ला तालिमका लागि भनेर कहिल्यै सम्पर्क गर्नुभएन । पछि उद्योगपति जुद्धबहादुर श्रेष्ठको तीन सय रुपियाँ सहयोगमा २००५ साल चैत २३ तदनुरुप ५ अप्रिलका दिन कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद छापियो । त्यसको भूमिकामा पुष्पलालले उल्लेख गर्नुभएको छ, ‘यो घोषणापत्र मजदुर वर्गको सर्वप्रथम र जगत्विख्यात साहित्य हो । अवश्यमेव पनि नेपालका राणा, राजा, जमिनदार, पुँजीपति र तिनका दलाल संस्था र सङ्गठनहरुले यसको घोर आलोचना गर्नेछन् ।’

हुन त गङ्गालाल श्रेष्ठ हलुवाई २००५ सालतिरै आफूले नेपाल ‘लाल कम्युनिस्ट पार्टी’ गठन गरेको बताउनुहुन्थ्यो । तर, रत्नलाल ब्राह्मणले भारतीय कम्युनिस्ट नेता नृपेन्द्र चक्रवर्तीसँग भेट गराइदिएपछि नेपाल कम्युनिस्ट पार्टी स्थापनाका निम्ति पुष्पलाल बढी अग्रसर रहनुभयो । नृपेन्द्र चक्रवर्तीकै सल्लाहमा पुष्पलाल पार्टी स्थापनाका दस्तावेज तयारी गर्न जुटिरहनुभएका बखत पुष्पलालको गङ्गालाल श्रेष्ठ हलुवाई र सुन्दरराज चालिसेसँग भेट भयो । स्वभावका हिसाबले गङ्गालाल श्रेष्ठ हलुवाई अलिक उग्र र व्यक्तिवादी प्रकारको हुनुहुन्थ्यो । उहाँहरुले नेपालमा कम्युनिस्ट पार्टी होइन, कोरियामा जस्तै श्रमिक पार्टी खोल्ने सुझाव मात्र दिनुभएन, जोड नै गर्नुभयो । गणेशलाल सुब्बाको पनि ‘छुट्टै कम्युनिस्ट पार्टी होइन, नेपाली राष्ट्रिय काँग्रेसभित्र मजदुर–किसान सङ्गठन खोली वामपन्थी दलका रुपमा काम गर्दै जाने र उपयुक्त समयमा पार्टी गठन गर्ने’ सल्लाह थियो । त्यसैअनुरुप पुष्पलालले डा. डिल्लीरमण रेग्मीलाई नै कम्युनिस्ट पार्टी खोल्न भनी पत्र लेख्नुभयो तर रेग्मीले अस्वीकार गरेपछि उहाँ पार्टी स्थापनाको उद्देश्यका साथ सम्भव भएसम्म धेरै व्यक्तिहरुसँग सल्लाहमा जुट्नुभयो । निरञ्जनगोविन्द वैद्यसँग पुष्पलालले गर्नुभएको सल्लाह, परामर्श र विभिन्न भेटघाट आदिको परिणाम थियो– नेपाल कम्युनिस्ट पार्टीको स्थापना ।

कोलकाताः नेपाली राजनीतिक दलहरुको उद्गमस्थल

भारतको राजधानी त्यतिञ्जेल कोलकाता नै थियो । फलस्वरुप नेपालका व्यापारी र विद्यार्थीहरुसमेत त्यहीं केन्द्रित हुन्थे । वास्तवमा नेपालका राजनीतिक दलहरुमध्ये राणा शाहीको दमनसँगै लुक्दै–छिप्दै र त्यसलाई छिचोल्दै नेपाली राष्ट्रिय काँग्रेस ९२००३०, नेपाल प्रजातन्त्र काँग्रेस ९२००५०, नेपाल कम्युनिस्ट पार्टी ९२००६० र नेपाली काँग्रेस ९२००६० कोलकातामै स्थापना भएका थिए ।

जहाँसम्म नेपाल कम्युनिस्ट पार्टी स्थापनाको सन्दर्भ हो, पुष्पलालले सक्दो भेटघाट र सरसल्लाहपछि एकदिन नृपेन्द्र चक्रवर्तीसँग केही रकम सहयोगको अनुरोध गर्नुभयो । जवाफमा चक्रवर्तीको भनाइ थियो, ‘हेर पुष्प ! केही हजारको प्रश्न हाम्रा निम्ति कुनै ठूलो कुरा होइन । हामीले दियौं भने फिर्ता लिंदैनौं । तर, एउटा कुरा याद गर † यदि नेपाली जनता तिम्रो पार्टीलाई हुर्काउन र बढाउन असक्षम छन् भने कम्युनिस्ट पार्टीको गठन गर्नु निरर्थक छ ।’ त्यतिखेर पुष्पलाललाई आर्थिक समस्या रहनु स्वाभाविकै थियो । तर, नृपेन्द्र चक्रवर्तीको भनाइले उहाँ गम्भीर बन्नुभयो र घोत्लिएर सोचविचार गरी जवाफमा भन्नुभयो, ‘तपाईंको कुरा मलाई अति नै घत् लाग्यो, यसले मलाई जीवनपर्यन्त निर्देश गर्नेछ ।’

पुष्पलालका शब्दमा– त्यसपछि २२ अप्रिल १९४९ का दिन कोलकाताको श्यामबजार इलाकाको नवीन सरकार लेनस्थित २८ नं. घरमा एक बैठक बस्यो । त्यसमा पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, नारायणविलाश जोशी र नरबहादुर कर्माचार्य चारजना उपस्थित थिए । त्यसैबीच काठमाडौंबाट दुर्गादेवी पनि आइपुगेकी हुनाले तिन ९मोतीदेवी०लाई पनि संस्थापक सदस्यका रुपमा लिने भन्ने कुरा भएअनुसार पार्टीको सङ्गठन समितिमा थपियो । यस सङ्गठन समितिले पुष्पलाललाई पार्टीको महामन्त्री पदमा नियुक्ति गर्‍यो र उनलाई केन्द्रीय रुपमा सङ्गठन गर्ने अभिभारा दियो । त्यसपछि निरञ्जनगोविन्द वैद्यलाई बारा, पर्सा र रौतहटमा पार्टी सङ्गठन गर्ने जिम्मा दिइयो । कारण उनले सन् ‘४७ मा वीरगञ्ज इलाकामा भएको सत्याग्रहमा नेतृत्वदायी भूमिका खेलेका थिए । नारायणविलाश र दुर्गादेवीलाई काठमाडौं उपत्यकाको जिम्मा दिइयो । नरबहादुरलाई विराटनगर जोगबनीमा मजदुरबीच काम गर्ने जिम्मा दिइयो ।

पार्टी स्थापनाको दुई दिनपछि अप्रिल २४ का दिन नेपाल कम्युनिस्ट पार्टीको अपिल जारी भयो । उक्त अपिलमा भनिएको छ, ‘… एकातिर नागरिक अधिकार लिई छाड्छौं भन्ने नारा बुलन्द गर्ने सयौं भाइहरु राणाको जेलमा सडिरहेका छन् । अर्कातिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरुमा राणा सरकारले घोषणा गर्‍यो । र, नागरिक स्वतन्त्रताको विषयमा ऐन, कानुन, नियमावली जारी भयो । यो घोषणा हाम्रा वीर सहिदहरुको स्मृतिमा ठूलो अपमान हो । … अतः हाम्रा प्रत्येक नरनारीले यस घोषणालाई लत्याई कोतपर्वले होइन, क्रान्तिकारी तरिकाले राणाशाहीको तख्ता उल्टाउनेछौं भन्ने प्रतिज्ञा गर्नुपरेको छ ।’

कम्युनिस्ट पार्टीको विस्तार

अपिल प्रकाशनपछि कोलकातामा पुष्पलालको हिक्मतसिंह भण्डारीसँग भेट भयो, उहाँ त्यहीं विद्यार्थी हुनुहुन्थ्यो । त्यसपछि हिक्मत सिंह, रामबाबु कार्की, प्रयागलाल, शम्शेर चाँद र केशरजङ्ग रायमाझी सम्मिलित ‘माक्र्सवादी अध्ययन मण्डल’को गठन गरियो । त्यतिखेर बङ्गालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध रहेकाले त्यसको नाम परिवर्तन गरेर ‘नेपाली प्रगतिशील अध्ययन मण्डल’ राखियो । त्यसले आफ्ना शाखाहरु दरभङ्गा, दार्जिलिङ, बनारस, गोरखपुर र लखनउसम्म विस्तार गर्‍यो । त्यसैक्रममा काठमाडौंबाट गौरीभक्त प्रधान पुग्नुभयो । उहाँमार्फत नै तुलसीलाल अमात्य नेपाली काँग्रेसबाट राजीनामा दिएर कम्युनिस्ट पार्टीको सम्पर्कमा पुग्नुभएको थियो ।

नरबहादुर कर्माचार्यमार्फत मनमोहन अधिकारीले कोलकातामै पुगेर पुष्पलाललाई भेट्नुभयो । आपसी कुराकानी र सल्लाहबमोजिम उहाँ पूर्वतिरै पार्टी र मजदुरको सङ्गठन गर्ने जिम्मा लिई विराटनगरतर्फ लाग्नुभयो । पूर्वी नेपालकै डीपी अधिकारी कोलकातामा पढ्दै हुनुहुन्थ्यो । उहाँले नेपाली काँग्रेस छाडेर पार्टीसँग सम्पर्क गर्नुभयो । उहाँमार्फत पूर्वका धेरै व्यक्तिहरु पार्टीको सम्पर्कमा आए । खासगरी, नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक डीएन प्रधान पनि कम्युनिस्ट पार्टीमा सामेल हुनुभयो । पछि उहाँकै नेतृत्व र डीपी अधिकारी मन्त्री रहेको ‘गैरनेपाल शान्ति समिति’ गठन भयो । सुदूरपश्चिमको तराई (नयाँ मुलुक) बाट बाबुकृष्ण शर्मा पार्टीको सम्पर्कमा आउनुभयो । यसरी पाँचजनाले स्थापित गरेको नेपाल कम्युनिस्ट पार्टी नेपालीहरु बसोबास गरिरहेका भारतका प्रमुख सहरका साथै पूर्व, पश्चिम र सुदूरपश्चिमसम्म विस्तार भयो ।
यसरी जहाँनियाँ राणाशासनको अन्त्य गर्ने एउटै उद्घोषका साथ कोलकातामा स्थापित नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी त्यसपछि निरन्तर अघिपछि, बराबरी वा समानान्तरजस्तै खुला–भूमिगत, हिंसात्मक–अहिंसात्मक सङ्घर्षका साथ अलग–अलग र संयुक्त रुपमा समेत निरन्तर अघि बढे र परिवर्तनको प्रक्रियाका सहयात्री बने ।

२००३ साल माघ १२ र १३ गते कोलकाताको भवानीपुरस्थित खाल्सा हाइस्कुलमा सम्मेलन गरी सर्वप्रथम नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो । उक्त सम्मेलनमा भारतीय समाजवादी नेता डा. राममनोहर लोहिया आउने तय भएकोमा बङ्गाल सरकारले धारा १४४ लागू गरेको हुँदा सम्भव भएन । तत्पश्चात् डा. डिल्लीरमण रेग्मीले झन्डोत्तोलन गरेर सम्मेलनको उद्घाटन गर्नुभएको थियो । विश्वेश्वरप्रसाद कोइरालाले सभापतित्व र डीएन प्रधानले स्वागत गर्नुभएको सम्मेलनबाट स्थापित नेपाली राष्ट्रिय काँग्रेसका दुईवटा उद्देश्य थिए– अहिंसात्मक साधनद्वारा जनताको सहयोगले उत्तरदायी शासनको स्थापना गर्नु र भारतीय स्वतन्त्रता सङ्ग्रामलाई पनि सहयोग गर्नु । तर, डा. रेग्मी र बीपीबीचको विवादका कारण यो पार्टी विभाजित हुनपुग्यो र दुईवटा अलग–अलग समूह बने ।

२००५ साउन १ गते कोलकाताको फ्रिस्कुल स्ट्रिटमा भएको भेलाको निर्णयअनुरुप ३० दिनपछि ३१ साउनका दिन नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना भयो । २००५ कै पुस १७ गते टाइगर सिनेमा हलमा भएको बैठकले महेन्द्रविक्रम शाहलाई पार्टीको अध्यक्ष चयन गर्‍यो । र, माघ २ गते गुवाहिटीमा पार्टीको सम्मेलन सम्पन्न भयो ।

नेपाली राष्ट्रिय काँग्रेस (बीपी) र नेपाल प्रजातन्त्र काँग्रेसले २००६ साल चैत १४ गते संयुक्त वक्तव्य जारी गरे र १३ दिनपछि चैत २७ गते बिहान ९ बजे टाइगर सिनेमा हलमा बृहद् सम्मेलनको आयोजना गरे । चौरङ्गीस्थित महावीरशमशेरको उक्त सिनेमा हलमा भएको सम्मेलनमा करिब तीन सयजना प्रतिनिधिहरुले भाग लिए र दुई पार्टीबीच एकीकरण गरी नेपाली काँग्रेसको गठन गरे । नवगठित नेपाली काँग्रेसको सम्मेलनद्वारा पारित राजनीतिक प्रस्तावमा उल्लेख गरियो, ‘अब गरिने आन्दोलन कुनै सुधारको मागका लागि नभई नेपालमा जनताको सरकार कायम गराउने उद्देश्यले गरिनेछ । गर कि मरको सिद्धान्तमा अटल रहेर श्री ५ महाराजाधिराजको वैधानिक नायकत्वमा जनताको शासन स्थापित गर्नलाई यस संस्थाद्वारा छिट्टै प्रारम्भ गरिने आन्दोलनमा भाग लिन प्रत्येक नेपालीलाई आह्वान गर्दछौं ।’ यसरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको करिब एकवर्ष पछि कोलकातामै नेपाली काँग्रेस बनेको देखिन्छ ।