२८ आश्विन २०८३, बुधबार

उदाउँदो कार्टुनिष्ट ‘माड्साब’को रोमाञ्चक यात्रा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

फेसबुकमा भेटेको एउटा कार्टुनले मेरो मन छोयो । हाँसो त उठायो नै तर देशको तीतो यथार्थ उजागार गरेको त्यो कार्टुन प्रति हृदयदेखि नै सम्मान जाग्यो । मनले सोच्यो काश त्यो कार्टुन सम्बन्धित निकायमा पुगे । खैर समाजमा यस्ता सर्जकहरुले नै एउटा दिशा प्रदान गर्दछन् ।

त्यस कार्टुनमा एक जना पुरुष पत्रिका पढिरहेका हुन्छन् । उनले पढ्दै गरेको पत्रिकाको देब्रेतर्फको हेडलाइनमा निर्वाचन …. लेखिएको छ । अर्कोपट्टि फौजदारी मुद्दा लागेकाहरु पार्टीमा सक्रिय लेखेको देखिन्छ । यतिकैमा पुरुषको अघिल्तिर सायद तिनै पुरुषको श्रीमती चिया वा कफि लिएर उभिएकी जस्ती देखिन्छिन् । पृष्ठभूमिमा भित्तामा सम्भवत देशको सर्वोच्च कार्यकारी पदमा रहेका व्यक्तिको फोटो जस्तो देखिन्छ । यत्तिकैमा महिलाले सोध्छिन्, चुनावमा उठ्छु रे ? न तिम्ले अपहरण गर्या छौ, न त गुण्डागर्दी नै १ पार्टीले पत्याउला र तिमीलाई ?

विशेषगरी नेपालका राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरुलाई गरिएको यो तीखो कटाक्षले यथार्थ समेत प्रस्तुत गरेको छ । नैतिकवान भएर राजनीतिलाई सेवाको रुपमा लिएर अघि बढ्नुपर्ने नेताहरुको नेपालका पार्टीमा खडेरी लागेको जस्तो दर्शाउने यो कार्टुनले नेपालको एक किसिमको अवस्थालाई छरपष्ट समेत पारेको छ ।

यस्तै कार्टुनको सिर्जनाले समाजका कूरीति घच्घच्याउने कला भएका सर्जक हुन् ‘माड्साब’ अर्थात आशिष खनाल ।

समाजमा भएका समसामयिक विषय तथा राजनीतिमा खरो व्यंग्य प्रहार गर्ने माड्साब प्रखर सिर्जनशीलता र हाँस्यविनोदका समिश्रणका खजना जस्ता लाग्छन् ।

समाजका घटनाहरुलाई टपक्कै टिपेर रमाइलो शैलीमा व्यंग्य प्रहार गर्ने खनाल सानैदेखि चित्रकलामा रुचि राख्दथे । इलामको देउमाइ नगरपालिका ४ मा जन्मेका उनी गाउँकै विद्यालयमा पढ्दा विभिन्न चित्रकला प्रतियोगितामा सहभागी भएर स्थान समेत हासिल गर्दथे ।

एक कुशल शिक्षकका रुपमा रहेका खनालले आफूलाई बहुआयामिक प्रतिभाका रुपमा परिचित गराएका छन् । काठमाडौँको नयाँबानेश्वरस्थित एम्बिसन कलेजबाट विज्ञानमा १२ पास गरे लगत्तै उनले आफ्नो गाउँ इलाम मंगलबारेको सिर्जनशील विद्यालयमा अध्यापन गराउन थालेका थिए ।

छोटो समयमै पाठकहरु तथा शुभचिन्तकहरुको साथ र हौसलाले आज उनी राष्ट्रिय दैनिक नेपाल समाचार पत्रका कार्टुन बनाउँछन् ।

बालबालिकाहरुप्रति विशेष लगाव रहेकै कारण शिक्षण पेशामा रमाएका खनालले शिक्षण पेशालाई नै ब्राण्ड बनाए । त्यही क्रममा आफूलाई माड्साब उपनाम दिए । आज त्यही नाम नेपालको नयाँ पुस्ताका जल्दोबल्दो उदाउँदो कार्टुनिष्टका रुपमा फड्को मारिरहेको पाइला बनेको छ ।

लामो दाह्री पालेका खनालले जीवनमा धेरै विषयलाई प्रयोग गरेका छन् । बिएससी अध्ययन गर्न इलामबाट काठमाडौँ हानिएपछि उनले शिक्षणलाई नै निरन्तरता दिने निधो गरे ।

त्यही क्रममा उनले कोटेश्वरस्थित लालीगुँरास वाटिका सेकेण्डरी स्कुलको होस्टेल इन्जार्च एवम् शिक्षकका रुपमा कार्य गर्न थाले । विद्यालयमा पनि बोर्डंमा मार्करले आफ्ना विद्यार्थीहरुको कार्टुन चित्रहरु बनाउने खनालले सैलुनदेखि ट्युसन सेन्टरसम्म सञ्चालन गरेका थिए ।

लकडाउनका कारण आफूले सञ्चालन गरेको सैलुन बेच्नु परे पनि घाटा भने व्यहोर्नु नपरेको उनी बताउँछन् । उनको सैलुनमा दाह्री ग्यांगका युवाहरुले साथ दिएको भन्दै उनी खुशी व्यक्त गर्छन् ।

विशेष राजनैतिक कुरितीमाथि व्यङ्य गर्ने कार्टुनिस्टका रुपमा उदाएका खनाल सम्भवत राष्ट्रिय पत्रिकामा कार्टुन छपाउने इलामका पहिलो कार्टुनिष्ट हुन् । लकडाउनकै समयदेखि उनले इलामको इलाम पोस्ट दैनिक, इलाम ग्रीन अनलाइन, झापाको इजलास दैनिक पत्रिकाका लागि कार्टुन बनाएका छन् ।

यो यात्रा त्यतिमा मात्रै सिमित भएन । छोटो समयमै पाठकहरु तथा शुभचिन्तकहरुको साथ र हौसलाले आज उनी राष्ट्रिय दैनिक नेपाल समाचार पत्रका कार्टुन बनाउँछन् ।

अहिले पनि आफ्नो पूरानो पेशा शिक्षण र कार्टुनलाई समय व्यवस्थापन गर्दै अघि बढाएका खनाल आगामी दिनमा अझै सशक्त रुपमा अघि बढ्ने लक्ष्य भएको बताउँछन् ।

अझै धेरै सिक्न बाँकी रहेको बताउने उनी काया कैरनमा आफ्नो कार्टुन वाचन भएको सुनेपछि थप उर्जा मिलेको सुनाउँछन् ।

मानिसहरुले वास्तविक नामले भन्दा पनि कार्टुनको ब्राण्ड नाम माड्साब भनेर बोलाउन थालेको सुनेर खुशी लाग्ने गरेको उनी भन्छन् ।

अधिकांश समय विद्यालयमै बिताउने आशिष बेला बेलामा कविता एवम् मुक्तकहरु पनि लेख्ने गर्छन् । केटाकेटीहरु प्रति विशेष लगाव भएकैले शिक्षणमा लागेका उनले यसलाई निरन्तरता नै दिने सोचमा छन् । आफ्ना विद्यार्थीहरुमा हौसला बन्न चाहने आशिषलाई अभिभावकहरुले समेत राम्रो शिक्षक भन्दा खुशी लाग्ने गरेको बताउँछन् ।

खनालका बुबा गंगा खनाल इलाममा ख्याति प्राप्त नाटककार एवम् शिक्षक हुन् । सायद यसैको प्रभाव पनि हुन सक्छ माड्साबमा अभिनयमा समेत रुचि एवम् ज्ञान विद्यमान छ ।

हाल आशिष नेपालको एउटा ख्यातिप्राप्त टेलिभिजनबाट कमेडी टक सो चलाउने तयारीमा छन् । फरक प्रकृतिका अन्तर्वार्ता रहेको बताउने आशिषको सो अब छिट्टै हेर्न पाइने छ ।